पालुङटारकी उपमेयर बसेल भन्छिन्, मेरो समुदायका लागि केही गरेर देखाउँछु

Pumpha (1)

माओवादी सशस्त्र विद्रोहमा सहभागी गोरखा पालुङटार नगरपालिका–१ खोप्लाङ बेलबासमा जन्मिएकी २९ वर्षीया पम्फा बसेल पालुङटार नगरपालिकाको उपमेयर बनेकी छन् । उनले उनले ४ हजार ४ सय ९४ मत ल्याउँदै स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पालुङटार नगरपालिकाको उपमेयर पदमा विजयी भएकी हुन् । प्रस्तुत छ, पम्फा बसेलसँग गरिएको कुराकानी ।

पालुङटार नगरपालिकाको उपमेयरमा विजयी हुनुभएको छ । कस्तो लागिरहेको छ ?
जनताले मत दिएर मलाई उपमेयर बनाउनुभएको छ । म खुसी छु । साथसाथै मेरो काँधमा नयाँ जिम्मेवारी पनि थपिएको छ । मैले पहिले जसरी जनताको काम गर्थे, त्योभन्दा पनि बढी जिम्मेवार भएर काम गर्नुपर्ने अवस्था आएको छ । म मलाई जुनप्रकारले जनताले विश्वास गरेका छन्, त्यसलाई पूरा गरेर देखाउने छ । जित्दा खुसी लागेको छ । तर चुनौतीपूर्ण अवसरका रूपमा लिएको छु ।

उपमेयर बन्नुभएको छ । तपाईका एजेण्डाहरु केके छन् ?
पहिलो त यो पहिलोपटक बनको नगरपालिकाको हो । तर, पनि हामीले यो नगरपालिकाकालाई विकास गरेर स्मार्ट सिटी बनाउने छौं । त्यसका लागि सबैभन्दा पूर्वाधारको बिकास जरुरी छ । त्यसका लागि पहिले सडक निर्माण जरुरी छ । पर्यटनको विकासका लागि पदमार्ग निर्माण गर्नुपर्ने भएको छ । त्यसका अलावा नगरपालिकाको विकासका लागि नीतिगत आवश्यकता पूरा गर्नुपर्छ । त्यसका लागि आवश्यक पहल गर्नेछौं । वर्गीय विभाजनका आधारमा यहाको नगरपालिकाको विकासका लागि रोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने । त्यसका लागि गोष्ठी गरेर योजना बनाउने छौं ।

तपाईले पालुङटारका दलित समुदायका अधिकार स्थापित गर्न केके पहल गर्नुहुन्छ त ?
म एउटा दलित मात्र नभएर महिला पनि हुँ । त्यही भएर पनि मैले दलित समुदायको विकासका लागि केही न केही नयाँ र विचारणीय काम गर्नैपर्छ सबैभन्दा पहिले पालुङटार नगरपालिकालाई भेदभावरहित बनाउनुपर्छ । सामाजिक चेतनामुलक कार्यक्रम गर्न जरुरी छ । पहिलो कुरा शिक्षा हो । हामीले सबैभन्दा पहिलो यहाँका विद्यालयमा कक्षा १ देखि नै जातीय भेदभावविरुद्धका विषय समेट्ने गरी छलफल चलाइरहेका छौं । पहिलो चरणमा छलफल चलिसकेको छ र यो विषयमा सबै सकारात्मक भएकाले पनि यो नगरपालिकालाई भेदभावरहित समाज बनाउन सक्छौं ।

त्यसका लागि बस्तीको छनौट गर्नुभएको छ कि छैन ?
स्वभाविक रुपमा हामीले त्यसका लागि एउटा पीडित बस्ती छान्नुपर्ने हुन्छ । पहिलो कुरा त हामीले अशिक्षत बस्ती, जहाँ चेतनास्तर कम छ, त्यहीबाटा यो कामको थालनी गर्छाै । त्यसका लागि गृह कार्य मात्रै भइरहेको छ । अब हुने नगर परिषदबाट बजेट पनि छुट्टयाइन्छ ।

पालुङटार नगरपालिकाभित्र रहेका दलित समुदायका समस्या कस्ता छन् ?
पक्कै पनि नेपालका अरु भागमा जस्तै यहाँ पनि छुवाछूत प्रथा कायम छ । केही हदसम्म शिक्षित बस्तीमा कम छुवाछूत छ भने अशिक्षा भएका ठाउँमा छुवाछूत बढी छ । यहाँका कति पनि रोजगारमुलक छन् भने बेरोजगार पनि छन् । कतिपय चाँही आफैं रोजगार गरेर खान पुग्ने अवस्थाका छन् भने कतिपय चाँही जतिगरे पनि खान नपुग्ने दलितहरु प्नि छन् । खासगरी हामीले यहाँ सुकुम्बासी दलितहरुलाई आधार मानेर अघि बढेका छौं ।

यहाँका दलितले भोग्दै आएका समस्यालाई समाधान गर्न केके गर्दै हुुनुहुन्छ त ?
मैले यहाँको हकमा भन्नुपर्दा दुईवटा कुराको हल गर्नुपर्ने हुन्छ । म एउटा महिला मात्रै नभएर यो राज्यले वर्षाैदेखि पीडामा पारेको वर्गको मान्छे हुँ । त्यही भएर पनि मैले मेरो समुदायको हक अधिकारका लागि केही न केही गर्नैपर्छ । किनकी बल्लबल्ल अधिकार कार्यान्वयनको तहमा पुगेको बेला हाम्रा समुदायबाट पनि ठूलो आस भइरहेको हुन्छ । म त्यसलाई पूरा गर्छु । त्यसका अलावा यो नगरको एउटा मात्र दलित बस्तीलाई नमुना बस्ती बनाउने प्रयासमा छौं । जुन बस्तीमा जातीय भेदभाव पनि नरहोस् र समाजलाई यसले नयाँ सन्देश पनि दिन सकोस् । जस्तो प्रकारको बस्ती छ, त्यसैलाई आधार मानेर विकास गरेर नयाँ बस्ती र नमुना बस्ती बनाउने योजना छ । अवस्य पनि त्यो पूरा हुन्छ ।

प्रतिकृया दिनुहोस