समाजवादी कांग्रेसका महासचिव गोविन्द निरौला भन्छन्, संवैधानिक प्रजातन्त्र र हिन्दु राज्य हाम्रो बटम लाइन हो

Gobind niraula

विद्यार्थी कालदेखि नेपाली कांग्रेसको भात्रृ संस्था नेविसंघमा आवद्ध रहेर राजनीति प्रारम्भ गरेका गोविन्द निरौला लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बने । उनले विपी पुत्र प्रकाश कोइरालाको साथमा रहेर राजनीतिक ज्ञानसमेत आर्जन गरे । उनी २०७० मा गठन भएको नेपाल समाजवादी कांग्रेसको संस्थापक महासचिव बने । उनले सोलुखुम्बुमा जन्मिएर मोरङलाई कार्य क्षेत्र बनाउँदै केही समय पत्रकारितासमेत गरे । प्रस्तुत छ, राज्यको वर्तमान राजनीतिक परिस्थिति, घटनाक्रम र विश्वको प्रजातन्त्रबारे नेपाल समाजवादी कांग्रेसका महासचिव निरौलासँग निशान न्युज डटकमका गोपाल बराइलीले गरेको विशेष कुराकानी :

तपाई विश्व संवैधानिकताको विषयलाई महत्व दिँदै समाजवाद र पुँजीवाद राज्य व्यवस्थाको उपज विश्व आतंकको सिर्जना हो भनिरहनुभएको छ । तपाईले बुझेको प्रजातन्त्र र समाजवाद के हो ? नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी हेर्नु हुन्छ त ?

प्रश्न अत्यन्त जटिल छ । एउटै प्रश्नभित्र सबै उत्तर प्राप्त गर्न खोज्नुभएको छ । नागरिकहरूलाई बुझ्न सजिलोका लागि प्रश्नको जवाफ अलगअलग गरेर बताउन जरूरी छ । जब जनता र भुगोलको महत्व विशिष्टको हुन्छ, राज्य बन्छ । भाषा, धर्म, संस्कृति, धरोहर, पहिचान र भावनाको महत्व हो राष्ट्रियता । मानव अस्तित्वका विशेषताहरू समान हुन्छन् । परिचालनको निम्ति व्यवस्था र विधानको तर्जुमा गरिएको हुन्छ । विश्व अस्तित्वमा रहेका मुलुकहरूले महत्वमा लिने गरेको राज्य व्यवस्थाको नाम हो प्रजातन्त्र । बेलायतले सन् १२१५ मा ख्रिष्टियन स्वतन्त्रताको लागि पादरीसँग गरेको सम्झौतालाई प्रजातन्त्र भनेको छ । अमेरिकी प्रजातन्त्रको परिभाषा हो सन् १८६३ मा अब्राहम लिंकनले उजागर गरेको ‘जनताले, जनतालाई, जनताद्धारा’ भन्ने अभिव्यक्तिको महत्व । अर्थात् अमेरिकी प्रजातन्त्रको परिभाषाले राज्य संचालनको लागि निर्वाचित सरकारको निर्माण भन्ने तथ्य अघि सारेको छ । भारतमा बेलायती व्यपारिक कम्पनीले तयार पारिदिएको राज्य व्यवस्थालाई प्रजातन्त्र भनिएको छ । मैले भन्नुपर्दा नेपालको अवस्था यीनै प्रजातान्त्रिक परिभाषाभित्र रहेको अप्रजातान्त्रिक कृयाकलापको कारण अराजकतामा फसेको छ ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुनुलाई अराजकता भन्नुभएको हो ?
संघीयताले समाज, सुरक्षा र भुगोललाई विखण्डन गर्दछ । धर्म निरपेक्षताको काम प्राचिनकालीन सांंिस्कृतिक अस्तित्वको नष्ट गर्ने हुन्छ । नेपालको अस्तित्व सिंगो छ । सामरिक महत्व विशिष्ट हुनुको साथै सामाजिक सद्भावहरू महत्वपूर्ण छन्् । त्यहि विशिष्टतालाई समाप्त पार्न आईएनजिओवादीहरूले संघीय राज्य प्रणालीको अवधारणा ल्याएका छन् । अर्थात् नेपालमा घोषणा गरिएको संघीय प्रणाली असान्दर्भिक मात्र नभएर अर्थहीन छ । सिंगो अस्तित्व नभएका देशहरूमा मात्र निर्माण हुन सक्दछ संघीयता । अमेरिकामा संघीयता छ । सिंगो देश निर्माण हुन नसकेर युनाईटेड स्टेटको स्वरूपमा छ अमेरिका । घोषणा गरिएको संघीयताले राज्यलाई गृह युद्धमा फसाउने काम गर्दछ ।

गणतन्त्रका कुरामा पनि जवाफ दिन जरूरी छ मैले । सरकार निरंकुस छ । शाषण अधिनायक सामन्तवादीहरूले संचालन गरेका छन् । संविधान विभेदित छ । न्याय अपमानित मात्र नभएर पक्षपातपूर्ण छ । हत्या, अपहरण र बलात्कारका घटनाहरू बढेका छन् । प्रशासन भ्रष्टचारको गन्धले दुर्गन्धित छ । निर्माण गर्न लागिएका राज्य संरचनाका आधारहरू अवैज्ञानिक छन् । २०६३ को घटनाले अधिनायक सामन्तवादको उदय गरेको छ । २०५८ मा राजा वीरेन्द्रको हत्या हुनु राष्ट्रिय अस्तित्व खतरामा रहेको छ । राजा ज्ञानेन्द्रलाई बनबास खेदेर नेपाली जनतालाई अविभावकविहीन बनाउन खोजिएको छ । २०४७ मा निर्माण गरिएको प्रजातन्त्रिक संविधान च्यातेर अप्रजातान्त्रिक संविधान २०७२ लाई प्रजातन्त्रको रक्षक ठान्नु राज्यको लागि ठूलो भूल हुन्छ । २०५२ मा सिर्जना गरिएको माओवादी आतंकको प्रयोगमा राष्ट्रिय सेनालाई ब्यारेकमा थुन्ने कामले नेपाललाई विदेशी शक्तिको नियन्त्रणमा राख्न खोजिएको कुरा पुष्टि गर्दछ । अब तपाई नै भन्नुहोस के यही नै हो विश्वमा कल्पना गरिएको गणतन्त्र ? गणतन्त्रको सार्थकता प्रजातन्त्र हुन्छ । प्रजातन्त्रको महत्व मानव बिकास र सभ्यतासँग सम्बन्धित हुन आवस्यक छ ।

तपाईले लामो संघर्ष र बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई फ्याँकेर पुनः नेपालमा राजतन्त्र चाहिन्छ भन्न खोज्नुभएको ?
त्यसो होईन । भारत, अमेरिका र बेलायतको राज्य व्यवस्थालाई प्रजातान्त्रिक मान्ने हो भने चीनको राज्य व्यवस्था पनि प्रजातान्त्रिक छ । कारण, चीनमा पनि संविधान छ । प्रतिनिधि, पोलिटब्युरोले तोक्दछ । निर्णय जनवादी कांगे्रसले गर्छ । अरू देशमा प्रतिनिधि राजनीतिक पार्टीका नेताले तोक्दछन् । निर्णय निर्वाचन आयोगले सुनाउँदछ ।

प्रजातन्त्र भएका देशहरूमा पनि सरकार बनाउने काम मतदानको महत्वमा भएको छैन भन्न खोज्नुभएको हो ?
मतदान त नेताहरूले तोकिदिएको मानिसबीच न हुने हो । पार्टीका नेताले फलानो, फलानो भनेर उमेदवार तोक्छन् । जनताले त्यसैलाई मत दिनु पर्दछ । कहानेर छ जन—मतदानको स्वतन्त्र अधिकार ? मेरो भनाई हो वर्तमान विश्वमा भएको प्रजातन्त्रको परिभाषा अपूरो छ । बेलायतमा चर्च स्वतन्त्रताको लागि पादरीसँग भएको सम्झौताको दस्तावेजलाई प्रजातन्त्र भनिएको छ । आफु प्रजातान्त्रिक हुँ भन्दै विश्वमा रहेका मुलुकहरूको अस्तित्वमाथि अतिक्रमण गरेको छ बेलायतले । बुझ्नको लागि दार्जिलिङ, गड्वाल जस्ता नेपालको भुमीलाई भारतमा मिसाइदिएको उदाहरण छ । अमेरिका बेलायतको उपनिवेश थियो । नागरिकहरूवाट उत्पन्न भएको स्वतन्त्रताको अभिव्यक्तिलाई प्रजातन्त्र भनिएको छ । भारत बेलायतकै उपनिवेश थियो । त्यहाँ भएको स्वतन्त्रता र औद्योगिकताको महत्वलाई प्रजातन्त्र भनिएको छ । पुँजीवादी चरमताको कारण विश्वमा आतंकवाद जन्मेको कुरा बोल्न डराइरहेका छन् मानव मस्तिस्कहरू । साम्यवादी चरमताले नव–सामन्तवादको जन्म गरेको छ ।

उसो भए तपाईको बिचारमा के हो त प्रजातन्त्र भनेको ?
प्रजातन्त्रमा जन–मतदान मात्र होईन, सामाजिक प्रतिष्ठा र सम्मानका कुराहरू विशिष्टका हुन्छन् । सम्पति र स्वामित्वको अधिकार वैज्ञानिक हुन्छ । प्रतिनिधि छनौट गर्ने कार्य आन्तरिक र वाह्य निर्वाचनको प्रकृयाले पूर्ण बनाइएको हुन्छ । मानव अधिकार र स्वतन्त्र अभिव्यक्तिका कुराहरू महत्वमा आउँछन् । वैचारिकताको महत्व विशिष्ट र अर्थपूर्ण हुन्छ । राज्य संचालनका कार्यहरू अनुशासित, न्यायिक र संवैधानिक हुन्छन् । सरकार कानुनको आधारमा रहेर संचालित भएको हुन्छ । आर्थिक अनुशासन व्यवस्थित गरिएको हुन्छ । करका दायराहरू फराकिला हुन्छन् । सम्पतिको संरक्षण र स्वामित्वको अधिकार निश्चित गरिएको हुन्छ । अधिकारको उपयोग गर्दा अस्तित्वलाई स्वीकार गरिने गरिन्छ । अर्थात्, प्रजातन्त्रको परिभाषा भन्नाले मानव सभ्यताको उत्कृष्ट परिभाषा हो भनेर बुझ्न सकिन्छ । कारण मानव जन्मन्छ, तत्काल अधिकारको उपयोग गर्दछ मानिसले । आवस्यकताहरू विकासक्रमसँग बढ्दै जान्छन् । उपयोग गर्ने तरिका मर्यादित हुन्छ । अस्तित्वको वास्तविकता थाहा पाउन उपयोगको महत्व आवस्यक हुन्छ ।
जब जनताको संविधान, जनताको शासन, जनताको सरकार भन्ने आधार तयार हुन्छ, प्रजातन्त्रका प्रकृयाहरू सुरू हुन्छन् । संवैधानिकताको अर्थ राज्य संचालनको लागि कानुनको आधार तयार भएको छ । स्वाधिनता समानता, स्वातन्त्रता, सार्वभौमिकता, अखण्डता र एकताको संरक्षण गर्न विश्व संवैधानिकताको आवस्यकता अनिवार्य छ । अर्थात् संवैधानिकताले पुँजीवादी चरमताबाट उत्पन्न भएको साम्राज्यवादलाई निस्तेज पार्न मद्दत पु¥याउँदछ । क्षेत्रीय विस्तारवादी बिचलनलाई निरूत्साहित गर्दछ ।

समाजवादबारे कुरा उठाउनुभयो । जनताले तपाईले परिकल्पना गरेको समाजवादलाई कसरी बुझ्न सक्छन् त ?
विश्वका प्रकाण्डहरूको अध्ययनमा पुँजीवादी सफलताको समयले समाजवादको प्रकृया संक्रमण गर्दछ । पुँजीको लगानीले पुँजीको संकलन गर्दछ । समाजवादमा आर्थिक, राजनीतिक र सामाजिक प्रकृयाहरू समान हुन्छन् । समाजको आवस्यकता समान रूपमा समायोजन गरिन्छ । वितरणका प्रकृयाहरू समान हुन्छन् । नागरिकहरूमा समान अधिकार प्राप्त हुन्छ । मैलै चित्त बुझाउन नसकेको परिभाषाको अर्थ यहिनेर मुखरित हुन्छ । कारण समाजवाद होस् या पुँजीवाद भौतिकवादी सफलताको लागि नागरिकहरूको सहभागिता आवस्यक छ । जहानेर समाजको उपस्थिति अनिवार्य मानिन्छ, समाजवादको प्रकृया सुरू हुन्छ । अर्थात् पुँजीवादपछि समाजवाद भन्ने प्रसंग असान्दर्भिक छ । समाजवादमा समानताको भाषा असान्दर्भिक छ । समान अधिकारका कुराहरू अवसरको प्रकृयाले मात्र पुरा गर्न सक्दछ ।
जब राज्यले समावेशी प्रतिनिधित्व र समानुपातिक वितरणको प्रकृया अपनाउँदछ पुँजीवादी तरंगहरू उत्तेजित हुन्छन् । तरंगको कारण समाजवाद मुखरित हुन्छ । चेतनामा वृद्धि हुनु पुँजी बिकासका भावनाहरू जिवित हुन्छन् । पुँजीवादमा बहुउद्देस्य कम्पनीहरूले विश्व बजारलाई नियन्त्रण गरेको कुरा निश्चित हुन्छ । प्राकृतिक बस्तुको स्वामित्व सामन्तवादको अवशेषसँग नियन्त्रित छ भन्ने कुरा स्पष्ट देखिन्छ । जहाँ जसले जसरी परिभाषा गरेको होस् पुँजीवादी बिकासका प्रकृयामा समाजवादको संक्रमण सुरू भएको कुरा स्पष्टसँग देखा पर्दा नागरिक समाजले वितरणको प्रकृया समानुपातिक हुन आवस्यक ठान्दछन् । अर्थात् पुँजीवाद होस् या समाजवाद भौतिकवादी बस्तु उत्पादनको प्रकृया समाजवादी छ भन्ने कुरा स्पष्ट हुन्छ । स्वामित्वको अधिकार व्यक्तिवादी भए पनि उत्पादन र बजारीकरणको व्यवस्थामा जन सहभागिताको आवस्यकता अनिवार्य भएको कुरा स्पष्ट हुन्छ । अर्थात् समाजको सहभागिता बिना पुँजीवादी बिकासको सफलता असम्भव छ । बस्तु उत्पादनका प्रकृयाहरू जनसहभागिता बिना असम्भव छन् ।
बाँकी रह्यो मैले बुझेको समाजवादको सम्वन्ध । समाजवादको सम्बन्ध उत्पादन, बितरण र स्वामित्वसँग सम्बन्धित हुन्छ । सामाजिक न्याय, सामाजिक सुरक्षा, सामाजिक स्वामित्व र समाजवादी विकास अवधारणा समाजवादका बिशेषता हुन्छन् । जब मानव समाजले भौतिकवादी बिकासको आवस्यकता महशुस गर्दछ समाजवादको प्रकृया सुरू हुन्छ । समाजवादमा समानुपातिक र समावेशी जस्ता बिशेषताहरू संक्रमण हुन्छन् । बिकासमा जनसहभागिता र औद्योगिकतामा साझेदारको भावना मुखरित हुन्छ । स्वामित्वका आधारहरू समाजवादी हुन्छन् । बिकासको कार्यमा उत्पादन, बितरण र पुनः उत्पादनको प्रकृया अपनाइएको हुन्छ । करका दायराहरू फराकिला हुन्छन् । आर्थिक प्रणाली अनुशासित हुन्छ । भु–स्वामित्वको अधिकारलाई वैज्ञानिक तरीकाले निश्चित गरिएको हुन्छ । श्रम पुँजीको व्यवस्था गरिएको हुन्छ । अर्थात् जहाँनेर समाजवादको कुरा गरिन्छ, प्रकृति र पदार्थलाई उपयोग गर्ने तरीका वैज्ञानिक छ भनेर बुझ्न सजिलो हुन्छ । तपाई समाजवादबारे बुझ्न कोशिस गरिरहनुभएको छ, समाजवाद भनेको पुँजीको बिकासपछि आउने समानता भनेर बुझ्नु भयो भने गलत हुन्छ । अर्थात् जहाँनेर भौतिकवादी सोच मुखरित हुन्छ, बिकासका प्रकृयामा समाजवादको प्रयोग हुन्छ । समाजवादी सफलताले मात्र नागरिक सम्पन्नता र राष्ट्रिय संमृद्धिको प्राप्ति गर्न सक्दछ ।
आवस्यकता र महत्वबारे पनि प्रश्न गर्न सक्नुहुन्छ तपाईले । जब मानव संसारले बिकासको तिव्रता, बस्तु उत्पादनमा निरन्तरता र स्वामित्वमा वैज्ञानिकता खोज्छ समाजवादको महत्व स्थापित हुन्छ । वातावरण प्रदुर्षण र जलवायु परिवर्तनमा कमी ल्याउन मद्दत गर्दछ । पावर ईन्जिनको बिस्थापित हुँदै गएको समयमा औद्योगिक संयन्त्रहरू निरन्तरता बनाइराख्दछ । अर्थात् विश्व राज्यमा भएका मेसिन औजारहरू बिस्थापित हँुदै गएको समयले पुँजीवादी देशहरू संक्रमणमा पर्न थालेका छन् । भौतिकवादी बस्तु उत्पादनको महत्व मानव श्रमसँग विशिष्ट रहन आवस्यक हुन्छ ।

तपाईले संघीयताको बिरोध गरिरहनुभएको छ । नेपाल जस्तो देशले पुँजीवादी अर्थतन्त्र र विश्वको उदारवादी बजारीकरणलाई कसरी थेग्न सक्ला त ?
आधुनिकतावादी भौतिक सफलताको लागि श्रम र स्वामित्वबारे विशिष्ट महत्व हुन आवस्यक छ । पुँजीको परिचालन र पुँजीपतिको संरक्षण हुन आवस्यक छ । श्रम, स्वामित्व र पुँजीको कुराले मानव भावनालाई प्रतिष्ठाको विषयसँग गाँस्दछ । अर्थात् सम्बन्धको कारण मानिसहरू आत्माबोधी हुन्छन् । प्रविधिको बिकासले मेसिन औजारहरूलाई निस्तेज पार्दै गएको समयमा बस्तु उत्पादनको लागि श्रमको पुँजीकरण महत्वपूर्ण हुन्छ । भौतिकवादी निरन्तरताको श्रोत हो मानव श्रम । श्रमको निरन्तरतामा बस्तु उत्पादनका प्रकृयाहरू संचालित हुन्छन् । आधुनिकताका विषयहरू पास्चात्यमा फर्कन्छन् । अर्थात पुँजीवादी बिकासको चरमताले आतंकको सिर्जना गरेको छ ।
अर्को पक्ष हो विरोधको लागि विरोध गर्यो भन्नु । नेपालको अस्तित्व सिंगो छ । संरचनाका स्वारूपहरू वैज्ञानिक छन् । राज्य अविकसित छ । उत्पादन प्रणालीलाई ध्वस्त गरिएको कारण आर्थिक अवस्था तहस नहस छ । बसोबासका व्यवस्थाहरू आवस्यक छन् । आधुनिकता र औद्योगिकताको बाटोमा अग्रसर भएर राष्ट्रिय संमृद्धिको पक्षमा लाग्नुपर्ने अवस्थामा सरकार सिंगो राज्यलाई फोढेर संघीय संंरचनाको निर्माणमा लागेको छ ।

विश्व बजारमा देखिएको रेडिकल मार्केट र उपभोक्तावादी चिन्तनबीच हुने प्रतिस्पर्धात्मक सम्बन्धको बीचमा समाजवादी अवधारणाको माध्यमबाट पुँजीवादको बिकास कसरी सम्भव छ ?
मैले धेरै पटक भनिसकेको छु भौतिकवादी बस्तु उत्पादनको श्रोत हो पानी, प्रकृति र पदार्थ । आधार मानव श्रम र विज्ञान । भौतिकवादी विज्ञानलाई मानव दिमागभित्र कैद गरिएको छ । जति परिचालन गर्नुहुन्छ, त्यति परिचालित हुन्छ । अस्तित्व स्वचालित छ । अबको मानव समाज पास्चात्य जीवनशैलीमा फर्किदैछ । प्राचिनकालीन ग्रन्थमा वर्णन गरे अनुसारका बस्तुको निर्माण भइसकेका छन् । प्रयोगका कार्य हेर्दा मानिसहरू प्राचिनकालीन सभ्यतामा फर्किएका छन् । बजारमा हेर्नुस च्याँतिएको र टालिएको कपडा प्रयोग भएको छ । एउटा पेन्टलाई च्याँत्नुस, अर्कोलाई टालिदिनुस । आधुनिकता हुन्छ । संसारले बनाउन सक्ने बस्तुको आकार परिवर्तन भए पनि भिन्नै किसिमको बस्तु बनाउन सक्ने अवस्था छैन । प्लेन, जहाज, कम्युटर, टिभी, टेलिफोन, गाडी, मिसायल्स सबै बस्तु बनाइसकिएको छ । ग्रन्थहरू हिन्दु सभ्यताका हुन् । ग्रन्थ अध्ययनको आधारमा आधुनिकतावादी भौतिक बस्तुको उत्पादन भएको छ । अबको अवस्थामा राडी, पाखी र खाँडी जस्ता बस्तुको प्रयोग हुन्छ । खाँडी बनाउने काम नेपाली समाजले गर्दछन् । बजारको अवस्था नेपाल जस्ता प्राचिन सभ्यताको अस्तित्व रहेका मुलुकतिर फर्कन्छ ।
अर्काे पक्ष हो गुणस्तरयुक्त बस्तुको उत्पादन । गुणस्तरयुक्त बस्तुको प्रयोगले आवस्यकतालाई परिपूर्ती गर्न मद्दत गर्ने हुँदा मागको तीव्रतालाई रोक्न सक्दछ । जहाँनेर मागको तीव्रता रोकिन्छ, बजार उत्पादनका बस्तुको निर्माण गर्ने कार्यले आराम पाउँछ । आवस्यक बस्ुत उत्पादन गर्ने कार्य अनिवार्य हुने हुँदा बिकासका प्रकृयाहरू निरन्तरतामा हुन्छन् । खाली आधुनिकताले पास्चात्यको बाटो ग्रहण गर्दछ । अब त तपाईले बुझ्नु भयो होला समाजका अंग–अंग बस्तु उत्पादनको कार्यमा कृयाशील हुन्छन् । विश्व मेशिनबाट उत्पादित हुने बस्तुको प्रयोग पास्चात्यमा फर्कन्छ । अर्थात् मानिसहरू ढिडो, रोटी, मकै, खोले, चिउराको उपभोग गर्न थाल्दछन् ।
अर्को महत्वपर्ण पक्ष हो पुँजीवादी बिकासको अहंताले उत्पादित भौतिकवादी बस्तुको बजारीकरण गरेर अर्थको संकलन गर्दछ । श्रम र स्वामित्वको एकाधिकारवादी शोषणमा निजि सम्पतिको संकलन गर्दछ । अर्थात् पानी, प्रकृति र पदार्थलाई नीजि स्वामित्वको उपयोगमा ल्याउँदछ । समाजवादको अर्थ बस्तुमाथिको सामाजिक स्वामित्व र श्रमको पुँजीकरण भन्ने हुन्छ । सामाजिक उत्पादन प्रकृयद्धारा उत्पादित बस्तुको बजारीकरणले पुँजीको संकलन हुन्छ । वजारिकरणको प्रकृयामा हुने उचित रोयल्टिको व्यावस्थाले स्वामित्व र वितरणको प्रकृयालाई समानुपातिक अवस्थामा पु¥याइदिने हँुदा बस्तु उपादनको प्रकृयामा नै समाजवादको संक्रमण हुन्छ । अर्थात् जनसहभागिता बिना बस्तु उत्पादनको सफलता असम्भव छ । जहाँ बस्तु उत्पादनको प्रकृयामा समाजको सहभागिता हुन्छ समाजवाद हुन्छ ।

विश्व विख्यात विद्धानहरूले आर्थिक बिकासको लागि पुँजीवाद, पुँजीवादको सफलतापछि समाजवाद र समाजवादको सफलता नागरिक समानता भनेका छन् । तर, तपाईले त यी सबैको बिरोध गर्नुभयो । किन ?
मैले कहाँ विरोध गरेको छ र ? १८ औं शताव्दीको दस्तावेजभित्र २२ औं सताव्दीको उपलव्धि खोज्नु व्यर्थ हुन्छ भनेको मात्रै हो । अर्थात् सबै पक्षको नयाँ परिभाषा गर्न आवस्यक छ । मेरो बुझाईमा विश्वका विकसित मुलुकहरू जहाँ जहाँ संमृद्ध भएका छन्, जनसहभागिताको माध्यमबाट हुने भौतिकवादी सफलताको कारण सम्मृद्ध भएका छन् । नागरिकहरूको सहभागिता बिना बस्तु उत्पादनको कार्य असम्भव छ । मेसिन औजारको प्रयोगले दिन सक्ने उपलब्धि हो । कार्य सम्पन्नताको पक्षमा उपलब्ध हुने तीव्रता । बजारीकरणको व्यवस्था मानव समाजले गर्दछ । उपभोगका कार्यहरू मानिसले गर्दछन् । अर्थ संकलनको कार्य मानव समाजबाट हुन्छ । जहाँनेर समाजको सहभागिता आवस्यक रहन्छ, समाजवादी अवधारणा मुखरित हुन्छ । विश्व विख्यात दार्शनिक कालमाक्र्सको पुँजीवादी अवधारणालाई हेर्नुस या त विद्धान अर्थशास्त्री जोन मेनार्ड किन्सको अर्थसम्बन्धि परिभाषालाई । मानव समाजको सकृयतामा आर्थिक पुँजीको संकलन हुन्छ । अर्थात् भौतिकवादी वस्ुत उत्पादनको सफलतामा पुजिको बिकास हुन्छ । वस्तु उत्पादनमा मेसिन औजारहरू प्रयोग हुन्छन् । परिभाषाको पूर्णाम्स मानव समाजसँग सम्बन्धित छ । अर्थशास्त्री भन्छन्, ‘मानिसले जति मेहनत गर्छ, उति आम्दानी प्राप्त गर्दछ । स्वामित्व ग्रहण गर्दछ ।’ हाम्रो भनाई त्यति मात्र हो सामुहिक उत्पादनको स्वामित्व सामाजिक हुन्छ । राष्ट्रिय सम्पत्तिको अधिकार राज्य र जनतामा निहीत हुनुपर्दछ ।
पुँजीवादपछि समाजवाद र समाजवादमा नागरिक समानता भन्ने विषयबारे मैले पहिले नै भनिसकेको छु पुँजीवादको चरमतामा आतंकवादको सृजना हुन्छ । समानताको परिभाषा असम्भव छ । सन्तुलन आवस्यकताका कुरा हुन् । कम्युनिष्टहरूको साम्यवादी अवधारणालाई सामन्तवादको केन्द्रियता मान्नुपर्दछ । कम्युनिज्ममा गरिव नागरिकहरूमा भएको श्रम र स्वामित्वको शोषण हुन्छ । अब तपाई आफैं बुझ्न सक्नुहुन्छ मैले कसैको भनाईमाथि विरोध गरिरहेको छु या वास्तविकताको खोजी गरिरहेको छु । नेपालको आवस्यकता हो संवैधानिक प्रजातन्त्रको स्थापना । अस्तित्वमा रहेका देशहरूको स्वाधिनता निम्ति विश्व संवैधानिकताको आवस्यकता अनिवार्य छ । जहाँ जनसहभागिताको भावनामा बिकासका कार्यहरू संचालन हुन्छन्, समाजवादी अवधारणा हुन्छ । बस्तुको बजारीकरणबाट प्राप्त नगद पुँजी हुन्छ । बिषय बस्तुमाथि गरिने छलफल र बहुमतको महत्व प्रजातन्त्र हुन्छ । कानुनी राज, संवैधानिक विशिष्टता र मताधिकारको सम्मान संवैधानिक प्रजातन्त्र । अर्थात् वर्तमान नेपालमा अधिनायकवादी राज्य व्यवस्थाको संचालन भएको छ ।

तपाईले नेपालमा प्रजातन्त्र छैन भन्नुभएको की विश्व प्रजातन्त्रलाई चुनौति दिन खोज्नु भएको हो ?
मैले प्रजातन्त्र र समाजवादको नयाँ परिभाषा हुन आवस्यक छ भन्न खोजेको हो । आतंकलाई समाप्त गर्न विश्व साम्राज्यवाद र क्षेत्रीय बिस्तारवादको बारुदी आतंक समाप्त गर्नुपर्दछ । सफलता नागिकहरूको लागि व्यवस्था गरिने गाँस, बास र कपासको महत्वले मापन गर्दछ । स्वामित्व र स्वतन्त्रताको लागि हुने निश्चितताको अधिकारले मापन गर्दछ । न्याय र कानुनको प्रभावकारिताका कुराले मापन गर्दछ । नेपालमा प्रजातन्त्र छ वा छैन भन्ने कुरा नेपाली जनता बताउँदछन् । गाँस, बास, कपासको कुरा रोजगारीको लागि खाडी मुलुकमा जाने युवाहरूको लस्कर र खोला किनारमा बसोबास गरिरहेका सुकुम्बासी बस्ती साथै राज्यले बनाएको आयोगले सुचक गर्दछ । कानुनी राज छ भन्ने कुरामा मानव हत्या गरेर सत्तामा पुगेका नेता कार्यकर्तालाई हेर्दा हुन्छ । न्यायिक कुराहरू २०७४ मा सर्वोच्च अदालतभित्र भएको घटनाका बारेमा अध्ययन गर्दा पुग्दछ । सामाजिक भेदभावको लागि राज्यले आफ्नै पक्षबाट दलित र जनजाति जस्ता सामाजिक विभेदका आयोगहरू बनाएको छ । प्रशासन त्यतिकै भ्रष्टचारी छ । निर्वाचनको कुरामा नेताले उमेदवार तोक्दछन्, जनताले त्यसैलाई मतदान गर्नुपर्छ । स्वामित्वका कुराहरू असमान छन् । २०६३ को दशकमा अधिनायक सामन्तवादको उदय भएको छ । 

तपाईले भनेको समाजवाद र नेपाली कांग्रेसले भनेको समाजवादबारे मात्र नभइ विश्व प्रजातन्त्र र समाजवादको भिन्नता छ भन्ने कुरा उठाउनुभयो । प्रजातान्त्रिक समाजवाद र संवैधानिक प्रजातन्त्रबीच के भिन्नता छ ? राजाका बारेमा पनि कुनै धारणा छ कि ?
सन् १७८९ जब फ्रान्समा जनताबाट गरिएको राज्य क्रान्ति सम्पन्न भयो, समाजवादको अवधारणा मुखरित भयो । सन् १८४८ जर्मन माक्र्सवादी मेनिफेस्टोको कारण विश्व राज्य निरंकुसताहरू शसंकित बने । फ्रान्समा राजाको हत्या गरेर जनताको शासन निर्माण भएको थियो । शासन तिन महिनाभन्दा बढि चल्न नसके पनि सामन्तवादी शासकहरूको बीचमा त्रासदी फैलियो । त्यही आधारलाई लिएर ‘विश्वभरका मजदुरहरू एक हौं’ भन्ने नारा अघि बढायो माक्र्सवादी दर्शनले । सन् १८४८ मा माक्र्सवादी मेनिफेस्टो प्रकाशमा आयो । सन् १८६४ मा माक्र्सवादी सोसलिस्टहरूले लण्डनमा पहिलो सम्मेलन गरे । सन् १९१७ लेनिनको समय रुसमा समाजवादी दर्शन प्रयोग भयो ।
सन् १९१७ अक्टुवर क्रान्ति रुसले विश्वलाई नराम्ररी प्रभाव पारेको थियो । गरिव मजदुर र मध्यम वर्गीय जनताहरू माक्र्सवादी दर्शनमा प्रभावित भए । घटनाले अमेरिकी पुँजीवादीहरूलाई त्रासदी बनाई दियो । युगिन सामन्त र कुलिन सामन्तको गठजोरमा सन् १९५१ जुन ३ ले अन्तर्राष्ट्रिय समाजवादी संगठनको निर्माण गरेर लेनिनवादी रुसी घटनामा प्रजातन्त्र नभएको कुरा प्रचार गरे । माक्र्सवादले भनेको प्रजातन्त्र साम्यवादी प्रजातन्त्र भएकोले नागरिक अधिकार नहुने हुँदा प्रजातान्त्रिक समाजवादको कुरा उठाईयो । समाजवादले पुँजीवादको सफलतापछि समानता प्रदान गर्ने भन्दै गर्दा साम्यवादी समाजवादबाट निम्न मध्यम वर्गीय र श्रमिक वर्ग जनताको श्रम शोषण गर्ने काम भयो । मुठ्ठिभर सामन्तहरूले पुँजीवादी प्रजातन्त्र भनेको स्वतन्त्रताको अधिकार भनेर सम्पत्ति र स्वामित्वको शोषण गरे । कारण व्याख्या गलत थियो । शासन अधिकार अधिनायक शामन्तहरूले नियन्त्रण गरे ।
वर्तमान सत्तामा रहेको नेपाली कांगे्रसको बारेमा पनि प्रश्न गर्नुभएको छ तपाईले । संवैधानिक प्रजातन्त्र र समाजवादी प्रजातन्त्रका बारेमा सोध्नुभएको छ । राजाका बारेमा बुझ्न खोज्नुभएको छ । नेपाली कांगे्रसले भनेको प्रजातान्त्रिक समाजवादका बारेमा उसैसँग बुझ्नु भयो भने उत्तर राम्रोसँग पाउनुहुन्छ । कारण गाई र भैसी गोठको उदाहरणले नेपाली कांगे्रसको समाजवाद निम्न पुँजीवादी सोच थियो भन्ने कुरा प्रष्ट गरेको छ । अहिलेको नेपाललाई आर्थिक संमृद्धि चाहिएको छ । राज्यले उद्योग धन्दाको संचालन गर्ने, जनतालाई रोजगार दिने, नाफावाट राज्य कोष खडा गर्ने, जुन संरचना राजा महेन्द्रले सुरू गरेका थिए नीजिकरणको नाममा नेपाली कांगे्रसको सरकारले बिक्री गरिदियो ति संरचनाहरू । बाँकी रहेका उद्योग धन्दाहरू कम्युनिष्ट एमाले र माओवादीले बिक्री गरेर राज्यलाई उजाड बनाइदिए । अमेरिकी प्रजातन्त्रको बारेमा स्पष्ट भएकै हुनुहुन्छ तपाई । यथास्थितिवादी समाजवादले सामन्तवादलाई प्रशय दिँदा साम्यवादी समाजवादले श्रमिकहरूको श्रम र स्वामित्वको शोषण गर्दछ ।
बाँकी रह्यो राजाका कुरा । जब सन् १७८९ फ्रान्स लुईस १६ औंको हत्या भयो, धेरै समयसम्म अस्थिरतामा रूमलिएर बस्यो राज्य । नेपोलियन सम्राट घोषणाले फ्रान्सलाई बिकसित बनायो । सन् १६४९ मा बेलायतका राजा चाल्र्स प्रथम फाँसीमा चढे । गृह युद्धमा फसेको बेलायतमा झण्डै ११ वर्षपछि चाल्र्स सेकेण्डलाई राजा बनाइयो । नेपालका राजा श्री ५ पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेर बृहत नेपालको निर्माण गरे । अस्तित्वको महत्वलाई सम्मान दिन आवस्यक छ छैन भन्ने कुरा भारतमा गरिने गरिएको महात्मा गान्धीको सम्मानले नेपाली जनताहरूको आत्मामा ज्ञान दिलाएकै हुनुपर्दछ । लेनिन, स्टालिन र माक्र्सका फोटो झुण्डयाएर राजनीति गर्ने नेताहरूको अनुहार हेर्नुभयो भने पनि आफैं घटनाको बारेमा मुल्यांकन गर्न सक्नुहुन्छ तपाईहरू । नेपालको आवस्यकता भौतिकवादी बिकास र राष्ट्रिय संमृद्धी मान्नुपर्दछ । अर्थात् राज्यले भौतिकवादी बिकासको सफलता प्राप्ति गर्न आवस्यक छ ।

जातीय, क्षेत्रीय अस्थिरता, बिकास, रोजगार र सामाजिक अवहेलनाबारे के छ तपाईको धारणा ?
तपाईले खोज्नुभएको उत्तर मधेशको सम्बन्धमा पनि हुन सक्दछ । राज्यको पहिलो शर्त हो राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र बिकास । मधेश मुद्दालाई राष्ट्रिय मुद्दा भनेर बुझनुपर्दछ । त्यसैको महत्वमा रहेर समाधान गर्नुपर्दछ मधेश मुद्दा । नागरिकहरूको लागि गाँस, बास, कपासको व्यवस्था गर्न आवस्यक छ । औद्योगिकता र रोजगारीको व्यवस्था गर्न आवस्यक छ । स्वास्थ्य, शिक्षा र संचारको व्यवस्था गर्न आवस्यक छ । जातीय र क्षेत्रीय विचलनलाई स्थिरतामा ल्याउन आवस्यक छ । संवैधानिक प्रजातन्त्र र हिन्दु राज्यको स्थापनाले मात्र स्थिरता कायम गर्न सक्दछ भन्ने हाम्रो धारणा छ । जब राज्यमा कानुनी राजको संचालन र औद्योगिक सफलता प्राप्ति हुन्छ स्थायित्व कायम हुन्छ ।
सामाजिक अवहेलनाको बारेमा मेरो धारणा स्पस्ट छ । कामको बर्गीकरणले मानिस मानिसबीच छुवाछूत हुनु अन्याय हुन्छ । मानिसहरू कहिलै र कोही पनि अछूत हुन सक्दैन भन्ने कुरा रगतमा हुने समागमले स्पष्ट गरेको छ । कामको आधारलाई मान्ने हो भने वाहुन क्षत्रीले गर्ने गरेको जुत्ता पसललाई हेर्दा हुन्छ । दमाई, कामी, सार्की जुत्ता पसलेका ग्राहक हुन्छन् । पसलेले ग्राहकको खुट्टा समाएर जुत्ता लगाइदिन्छ । सार्कीको जस्तै जुत्तामा पालिस लगाएर जुत्ता बेच्छ । कामीको अर्थ हो संरचनाको सृष्टीकर्ता । मानिस मानिसको समुहमा बस्दछ । कामी जातिबाट मेसिन औजारको विषयमा पहिलो प्राचार्य गर्ने व्यक्ति जसलाई विश्वकर्मा बाबा भनेर पुजा गर्ने चलन छ । सार्की, मिजारहरूको परिचय तालुकदारको लेखनदास भन्ने हुन्छ । दर्जीहरूले पेशागत रूपमा लुगा सिलाउने चलन छ । व्राह्मण, क्षत्री सबै वर्गले कपडा सिलाउने पेशा गर्न थालेका छन् । सुविधा दिने नाममा राज्यले स्थापना गरेको जातीय आयोगले सामाजिक अवहेलनालाई बढाएर लैजाने हुँदा सम्बन्धित पक्ष चनाखो हुन जरूरी छ । बेलायत र अमेरिकाबाट रेडिमेट व्यवस्था गरेर ल्याइएका ज्वाई र बुहारीहरूको जात समागम रहेको अवस्थामा राज्यभित्र वस्ने नागरिकहरूप्रति भएको भेदभाव तुरून्त हट्नुपर्दछ । झण्डै ३० प्रतिशत नागरिकहरूलाई जनजातिको वर्गमा राखिएको छ, त्यो वर्गिकरण अत्यन्त खतरनाक छ ।

क्रमसः

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...