एमालेले बेइमानीको राजनीति गर्दैछ : विश्वकर्मा

Min bk

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मौसमअनुसारको राजनीति गर्दा मुलुकले समस्या व्यहोर्नुपरेको आरोप लगाएका छन् ।

नेता विश्वकर्माले एमाले बेईमानीका साथ राष्ट्रिय राजनीतिबाट भाग्न खोजिरहेको आरोप पनि लगाए । उनले प्रश्न गरे, ‘बिहान आफ्नो सहमतिमा तयार पारेको प्रस्ताव ठिक हुने र साँझ अर्कोले गर्दा बेठीक हुने ?’

रिपोर्टर्स क्लवले आयोजना गरेको कार्यक्रमा विश्वकर्माले भने, ‘एमालेले उधारो कुरा गरिरहेको छ, किनकी उसले आजसम्म अघाएको कुरा मात्रै गरेको देखिन्छ ।’ एमालेप्रति निक्कै आक्रोसित मुद्रामा प्रस्तुत भएका विश्वकर्माले एमाले गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको आरोप लगाए । उनले एमालेले पछिल्लो समय संविधान संशोधन प्रस्तावको विषयमा गरिरहेको टिप्पणी शोभनीय नभएको र गम्भीर आपत्तिजनक रहेको जिकिर गरे ।

उनले संसदमा विचाराधिन संविधान संशोधन विद्येयक निर्णयार्थ पेश गर्न नहुने स्पष्ट पारेका छन् । उनले सकेसम्म प्रस्तावलाई सर्वसम्मतिमा र नभए दुईतिहाई पुग्ने अवस्था भए मात्रै निर्णयार्थ प्रस्तुत गर्नुपर्ने बताए । उनले यदि दुवै अवस्था नभए प्रस्तावलाई थाँती राखेर चुनावी एजेण्डा बनाएर अघि बढ्न सुझाव दिए ।

उनले मधेशको मुद्दालाई कसैलेपनि उपेक्षा गर्न नहुने बताउँदै सकेसम्म यही असारभित्रै संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गर्नेगरी वर्तमान सरकार र यसको नेतृत्वकर्ता लागिपरिरहेको जनाए । उनले भने, ‘अझै दुई तीन दिन बाँकी छ, प्रधानमन्त्रीले प्रस्तावको पक्षमा एमाले सहितको सर्वसम्मति जुटाउने प्रयास गरिरहनुभएको छ, यदि सहमति कायम हुन सकेन भने दुई तिहाई नपुगुन्जेल संविधान संशोधनको प्रस्ताव थाती राख्नुपर्छ ।’

उनले प्रमुख प्रतिपक्षी दलले आजै सहमति जनाए भोलि नै प्रस्ताव पारित हुने पनि जनाए । उनले भने, ‘यदि प्रस्तावको पक्षमा एमालेले आजै सहमति जनाए, भोलि नै यो प्रस्ताव पारित हुन्छ, तर प्रस्तावको पक्षमा सहमति हुन सेकन र दुई तिहाई पनि पुग्ने अवस्था भएन भने यसलाई निर्णयार्थ पेश गर्नुहुँदैन, बरु यसलाई थाँती राखेर संशोधन अर्थात यो प्रस्तावका पक्षधरहरुले चुनावमा यही एजेण्डा लिएर जानुपर्छ ।’
उनले हामी गणितीय हिसावले भन्दा एमालेकै सहमतिमा नै प्रस्तावलाई पारित गराउन खोजिरहेको बताए ।

प्रतिकृया दिनुहोस