योनेक्स सनराईज पुष्पलाल ब्याडमिन्टनमा सेनाको बर्चस्व

Byadnintan


काठमाडौं । योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले आफ्नो बर्चस्व कायम गरेको छ ।
प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस्व कायम गरेको हो ।

सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गल्र्स यु–१७ र यु–१५ एकलमा जित हात पारेको हो । ९ विधामध्ये २ विधा ब्वाईज यु–१५ एकल र भेट्रान्स ४५ माथिको विधामा मात्र सेना पछाडि परेको थियो ।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा सेनाका साविक विजेता रत्नजित तामाङले सेनाकै नविन श्रेष्ठलाई २३/२१ र २१/१७ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् ।

महिला एकलतर्फ पनि साविक विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङले आफ्नै क्लबकी अमिता गिरीलाई २१/१४, १९/२१ र २१/८ को जित हात पार्दै उपाधी रक्षा गरिन् ।

विजेताले नगद ५० हजार सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तृतीय स्थान हात पार्ने खेलाडीहरुले नगद १० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पुरुष जोडी तर्फको उपाधी पनि सेनाको पोल्टामा गयो । सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले पुलिसका बिष्णु कटुवाल र दिपेश धामीको जोडीमाथि २१/१७, २१/१८ को सोझो सेटमा पाखा लगाउन सफल भए ।

खेल सामाग्री निर्माता अन्तराष्ट्रिय संस्था योनेक्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला जोडीतर्फ सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङको जोडीलाई २१/११, १६/२१ र २१/१४ ले पराजित गरे ।

यस्तै ब्वाईज यु–१५ एकलमा ललितपुरका पेम्बा शेर्पाले कञ्चनपुरका गोकुल जोरालाई २१/२३, २१/१६ र २१/१५ ले, ब्वाईज यु–१७ मा सेनाका प्रफुल महर्जनले सेनाकै पविन लिङ्गथेपलाई २१/९, २१/१६ ले पराजित गर्दै उपाधी हात पारे । गल्र्स यु–१५ र १७ एकल दुबैमा सेनाकी रसिला महर्जनले जित हात पारिन् । उनले यु–१५ मा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्टलाई २१/१२, २१/१७ ले तथा यु–१७ मा बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१/१०, २१/६ ले पराजित गर्दै प्रथम स्थान हात पारिन् ।

विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद १० हजार, ७ हजार र ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धामा अन्नपूर्ण ब्याडमिन्टन क्लबका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले पुलिसका प्रेम चन्द र गणेश चन्दको जोडीलाई गल्र्स १५ एकलमा सेनाकी रसिला महर्जनले जेष्ट ब्याडमिन्टन एकेडेमीका रञ्जना भट्टलाई २१/१०, २१/१२ को सेटमा पराजित गर्दै जित आत्मसाथ गरे । विजयी खेलाडीहरुले खेल सामाग्री प्राप्त गरे ।

प्रतिकृया दिनुहोस