जनताले कांग्रेसको सिङ र जुरो खुस्काई दिए : ओली

Dkt oli 1

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले सरकारमा जान हतार नभएको बताएका छन् ।

उनले आफ्नो पार्टी स्पष्ट बहुमत ल्याएर मात्रै सरकारमा जाने भएकाले अहिले नै सरकारमा जान खुट्टा नउचाल्ने दावी गरेका छन् । धनकुटामा आयोजित विजय उत्सवमा अध्यक्ष ओलीले एमालेले स्पष्ट बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताए ।

मुलुकको ठुलो पार्टीको रुपमा रहेको नेपाली काग्रेसको स्थानीय तहको निर्वाचनबाट जनताले सिंङ र जुरो खुस्काई दिएको टिप्पणी गरे । ‘ठूलो पार्टी भनेर के गर्नु, जनता सिंह भाँचिदिएपछि कसको के लाग्छ र’ उनले भने, ‘जनताले सिङ भाँचेर स्थानीय तहको निर्वाचनमा दोस्रो पार्टी पो बनाइदिएछन् ।’

ओलीले स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनबाट एमाले मुलुकको पहिलो पार्टी बन्न सफल भएकाले प्रदेश नं. २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । एमाले कुनै जात, धर्म, भूगोल, सम्प्रदायको लागि मात्र राजनीति गर्ने पार्टी नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले सिंगो देशको लागि एमालेले राजनीतिक गरेको बताए ।

उनले भने, ‘एमाले संघीयता विरोधी, जनजाति विरोधी, मधेशी विरोधी भएको भए संविधान सभाको सभामुख सुवास नेम्बाङलाई कसले बनायो । नेपालको पहिलो महिला राष्ट्रपति कसले बनायो । एमालेले हैन हैन र ?’

सो विजय सभामा पार्टीका केन्द्रीय सचिव प्रदीप ज्ञावाली, पार्टी सचिव एवम् प्रदेश नं. १ का संयोजक भीम आचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित लगायतले विजयी जनप्रतिनिधिहरुलाई बधाई दिएका थिए ।

हेर्नुस धनकुटामा भएको कार्यक्रमका तस्विरहरु

प्रतिकृया दिनुहोस