गोजुरियोमा नेपाल च्याम्पियन

Game33333333333

काठमाडौं । नेपाल पाँचौं इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल गोजुरियो कराते डो संघ, दक्षिण ढोका डोजोद्वारा आयोजित प्रतियोगितामा १७ स्वर्ण, १५ रजत र २० कांस्य जित्दै नेपाल टिम च्याम्पियन बनेको हो ।

पाहुना टोली भारत ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ दोश्रो भयो । प्रतियोगिताको पुरुषमा नेपालका रामकुमार गिरी र महिलामा भारतकी अनमोल प्रित उत्कृष्ट खेलाडी घोषित भए । रामले ५५ केजीमा स्वर्ण जितेका थिए भने अनमोलले २० केजीमा रजत हात पारेकी थिइन् ।

प्रतियोगिताअन्तर्गत पुरुषको २० केजीमा निरज तामाङ, २५ केजीमा सुशान्त राना मगर, ३० केजीमा नवीन श्रेष्ठ, ३५ केजीमा सविन तामाङ, ४५ केजीमा विकबहादुर थामी, ५० केजीमा वरुण तामाङ, ६० केजीमा निरज गौतम तथा एकल कातामा चिरायु रिजालले नेपाललाई स्वर्ण दिलाए ।

त्यस्तै महिलातर्फ नेपालबाट स्वर्ण जित्नेमा २० केजीमा मिङमा डोल्मा शेर्पा, २५ केजीमा सुनीता चौधरी, ३० केजीमा इशा तामाङ, ३५ केजीमा आर्या थापा, ४५ केजीमा रेश्मा तामाङ, ५० केजीमा एलिसा तामाङ र ५५ केजीमा मोनिका योञ्जन रहेका छन् । आर्याले महिला एकल कातामा पनि स्वर्ण जित्दै व्यक्तिगत स्वर्ण संख्या दुई पु¥याइन् ।

भारतका लागि पुरुष ४० केजीमा अंकुश र खुलामा सान्जी तथा महिला ४० पाँखी र खुलामा गरीमाले स्वर्ण जिते ।
विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, नेपाल गोजुरियो कराते महासंघका महासचिव वीआर मित्र, आयोजक प्रमुख सानुबाबु गिरी, जापान गोजुरियो कराते डो केन्वाकाइ नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा जाजरकोटको भेरी नगरपालिको मेयरमा निर्वाचित नेपाल गोजुरियो कराते संघका अध्यक्ष सीपी घर्तीलाई आयोजकले प्रशंसा पत्रसहित सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस