व्युँतिन थाल्यो गाउँगाउँमा जनसरकार

जनसरकारका नाममा फेरि फैलियो त्रास

Biplab

डोटी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जनयुद्ध शैलीमा जनसरकार गठन गर्न थालेको छ ।

खासगरी माओवादीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन विथोल्ने गरी जिल्लाका विभिन्न गाउँहरुमा जनसरकार गठन गर्न थालेको हो ।

डोटी जिल्लाको दक्षिण भेगमा पर्ने साविकका जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन र लानाकेदारेश्वर गाविसहरुमा जनसरकार गठन गरिसकेको छ ।

माओवादीद्धारा गठित जनसरकारमा जोरायलमा योगेन्द्र बोहरा, गड्सेरामा दिपक बोगटी, तेजबहादुर बोहरा, मन्नाकापडीमा तारासिंह मन्नी, बर्छैनमा प्रेमबहादुर विष्ट र लानाकेदारेश्वरमा गोरख बोगटीलाई जनसरकार प्रमुख तोकेको छ ।

अन्य गाविसमा पनि जनसरकार गठन कार्य तीव्र बनाइएको माओवादी डोटीले जनाएको छ । माओवादीले १४ असारमा हुने स्थानीय तहका निर्वाचन विथोल्न सबै गाउँमा जनसरकार घोषणा गर्ने नीति लिएको छ ।

यसअघि तत्कालीन नेकपा माओवादी सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा सरकारलाई विफल तुल्याउन गाउ र जिल्लामा आफ्नै सरकार गठन गरेको थियो । शान्तिकालमा आएर मात्रै माओवादीले आफ्ना ती स्थानीय सरकार खारेज गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी डोटीका ईन्चार्ज विवेक कुमालले सरकारले तोकेको दोस्रो चरणको निर्वाचन कुनै पनि हालमा सम्पन्न हुन नदिन र त्यसलाई विथोल्न व्यापक मात्रामा आफ्ना कार्यकर्ता परिचालन गरिएको बताए ।

निर्वाचन बिफल पार्न सक्रिय रुपमा लागेको माओवादीले स्थानीय स्तरमा जनसरकार गठन गर्न ग्रामीण क्षेत्रमा ठूलो संख्यामा पार्टीका कार्यकर्ता परिचालन गर्न थालेको छ ।

निर्वाचनलाई हुन नदिने उद्देश्यका साथ गाउँहरुमा निर्वाचन विरोधी गतिविधी गर्न थालेपछि जनतामा सन्त्रास पनि फैलिएको छ ।

प्रतिकृया दिनुहोस