गर्भ तुहाउन खोजिएको सन्तानले एउटी आमाको लागि ल्याएको गर्विलो खुसी

Rajina budhathoki

रामेछाप । कोही पनि मान्छे रहरले जन्मिँदैन । बाबुआमाको रहरले बच्चा जन्मिने अलग कुरा हो । तर, आफूले जन्माउनै नचाहेको सन्तानले दिएको खुसी एउटी आमाका लागि कति गर्विलो होला रामेछापको लिखु गाउँपालिका ७, तिल्पुङकी झम्कमाया अहिले खुसी लुकाउँ कहाँ भनेजस्तै अवस्थामा छिन् ।

जसको जन्म रोक्न झम्कमायाले दुई पाथी सिमलको बोक्रा खाएकी थिइन् । गर्भ तुहाउन अनेक उपाय गरेकी थिइन्, त्यही सन्तानले आज उनलाई पतिवियोगको पीडासमेत भुलाउने गरी खुसी दिएकी छन् । ती हुन् रजिना बुढाथोकी, जो लिखु गाउँपालिका वडा नम्बर ७ बाट हालै वडा सदस्य निर्वाचित भइन् र अहिले गाउँ कार्य पालिका सदस्य पनि निर्वाचित भएकी छन् ।

 रजिनालाई रोक्न २ पाथी सिमल खाएकी थिइन् आमाले

जब रजिना गर्भमा आइन् । त्यतिबेला तिल्पुङका झपट बुथाथोकी र झम्कमाया बुढाथोकीको घरमा खेत बिराउने मेलो थियो । ०४३ सालमा साविकको तिल्पुङ् गाविसको हलेदेमा कुलो आएपछि खेत बिराउने मेलो चलेको थियो ।

वरिपरिका छिमेकीले खेत बिराउन लागेपछि झपड बुढाथोकी र झम्कमायाँ बुढाथोकी पनि खाली हात बस्ने कुरा भएन । दुई बुढाबुढी खेत बिराउन लागे । झम्कमायाँले गर्भवती भनेर सुख पाइनन् । खेत बिराउँदा निस्किएका ढुङ्गा निकाल्दै तामाकोसीमा फाल्दै । उनको यो दैनिकी नै बन्यो ।

‘ढड्यानका ढुङ्गा जति निकाल्यो त्यति आउने, अहिलेको जस्तो गर्भवती हुँदा आराम गर्ने चलन थिएन । सकी नसकी ढुङ्गा ओसारियो’, झम्कमायाँले ती दिन सम्झिँदै भनिन् ।

गर्भावस्थामा गरुङ्गो भारी बोकेका कारण झम्कमायाको रक्तश्राव हुन लाग्यो, तर गर्भ खेर गएन । रक्तश्राव हुँदा पनि गर्भ नगएपछि आमालाई खतरा हुन्छ भन्दै गर्भ तुहाउन स्थानीय जडीबुटीको प्रयोग भयो ।

झम्कमायाले शुक्रवार उनकै आँगनमा अनलाइनखबरकर्मी समक्ष ३० वर्षअघिको घटना यसरी सम्झिइन्– झण्डै २ पाथीजति सिमलको बोक्रा खाएँ होला । तैपनि गर्भ तुहेन । त्यसपछि पेटमा छामेर जहाँनेर सारो भेटिन्छ, त्यहीँ लोहोरो तताएरसासूले सेक्नुभयो तैपनि गर्भ तुहेन । अन्तिममा ७ महिनामा नै ०४३ साल पुस ३ गते यो जन्मिई ।

जन्मजात नै अपाङ् रजिना

गर्भावस्थामा आमाले गर्भपतन गराउनका लागि विभिन्न जडिबुटीको प्रयोग गरेकै कारण रजिना जन्मेदेखि नै सानो गाँठीकी भइन् । उनी ७ महिनामा नै जन्मिएका कारण उनको तौल र शरीर सानो थियो ।

पछि पनि उनको उमेर अनुसारको शरीर र तौल बढेन । उनी अहिले ३० वर्षको उमेरमा पनि ८र९ वर्षकी बच्चीजस्तै होची छिन् ।

रजिनालाई जन्मिनबाट रोक्न त्यो बेला गरिएका प्रयासहरु सुन्दा नमीठो लाग्छ । तर, त्यति गर्दा पनि जन्मिएर धर्ति देख्न पाएकोमा गौरव पनि छ उनलाई ।

भर्खरै एमालेबाट गाउँ कार्यपालिका सदस्य निर्वाचित भएकी रजिनाले भनिन्– यदि म सपाङ्ग भएकी भए अन्य दिदीबहिनीको जस्तै विवाह हुन्थ्यो । अहिले कसैको घर र छोराछोरी स्याहार्दै हुन्थेँ । मैले यो अवसर सायद पाउने थिइनँ होला ।

पाँच दिदीबहिनी मध्येकी साहिली रजिनाका अन्य दिदीबहिनीको विवाह भइसक्यो । दुई दाजुभाइ पनि नोकरीको सिलसिलामा बाहिर छन् । उनका बाबु झपड बुढाथोकीलाई माओवादीले द्वन्द्वकालमा हत्या गरे ।

अहिले घरमा रजिना र आमा झम्कमायाँ मात्रै छन् । कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी रजिना अहिले स्नातक तहमा अध्ययन गर्दैछिन् ।

बाबुको बिँडो थाम्ने छोरी

झपड बुढाथोकीको परिवार तिल्पुङको हलेदेमा गरी खाने मेहनेती परिवार थियो । सुरुदेखि नै मिहेनती र हक्की स्वाभावका झपड बुढाथोकी एमालेमा आवद्ध थिए । ०४९ सालको स्थानीय निर्वाचनमा उनले एमालेका तर्फबाट वडा अध्यक्षमा टिकट पाए र चुनाव पनि जिते ।

उनी एमालेमा नै रहेर सामाजिक काममा संलग्न थिए । साहित्यकार जगदीश घिमिरेले आफ्नो उपन्यास अन्तरमनको कथामा झपटको हक्की स्वाभाव, कठोर मिजास तर सामाजिक चरित्रका बारेमा लामो ब्याख्या नै गरेका छन् ।

माओवादीको सशस्त्र द्वन्द्वका बेला पनि उनी एमाले नै भएर गाउँमा टिकी रहे । सायद त्यही कारणले ०५९ साल भदौ १८ गते राति उनलाई माओवादीहरुले सुतिरहेको ठाउँबाट नियन्त्रणमा लिई केही पर खेतमा लगी हत्या गरे । त्यसपछि बुढाथोकी परिवार अस्तव्यस्त भयो ।

‘त्यसपछि को कता, को कता, बाबुले सुरु गरेको काम कसैले पूरा नगर्ने भए भन्ने लागेको थियो । तर अहिले आएर यसले चुनाव जिती । बाबु जुन पार्टीमा लागेका थिए, त्यही पार्टीबाट चुनाव जिती । जे होस्, बाबुको बिँडो थामी’ छोरीसँगै बसेकी झम्कमायाँले भनिन् ।

पार्टीभित्र निर्विवाद, गाउँकार्यपालिकामा निर्विरोध

रजिनालाई पार्टीमा आउँला र राजनीति गरौंला भन्ने कुनै सोच थिएन । जब स्थानीय तहको चुनवाको घोषणा भयो, त्यस पछि भने उनलाई राजनीतिमा आकर्षण बढ्यो । छिमेकीहरुले पनि तेरा बाबुले राजनीति गरे, एमाले भएकै कारण मारिए, अब बाबुले गरेको राजनीतिको बिडो तैँले थाम्नु पर्छ भने ।

उनले ‘पार्टीभित्र विवाद गरेर त म चुनाव उठ्दिनँ, तर पार्टीमा विवाद हुँदैन भने उठ्छु’ भनेपछि उनको कसैले विरोध गरेनन् । सहिद परिवारको सम्मान गर्ने भन्दै उनलाई एमालेका तर्फबाट लिखु गाउँपालिका ७ को महिला सदस्य बनाइयो ।

जब उनी भोट माग्न घरदैलोमा गइन्, त्यसपछि मात्रै रजिनालाई आफू राजनीतिमा आउन ढीलो भइसकेको थाहा भयो । ‘घरदैलोमा जाँदा मेरा बुवा र मप्रति जुन सद्भाव गाउँलेहरुले देखाए, त्यसपछि मात्र मलाई राजनीतिमा आउन ढिला भइसकेछ भन्ने थाहा भयो । मेरा बुबालाई मार्ने माओवादीका नेताहरुले समेत मलाई जित्न शुभकामना दिए’, उनले भनिन् ।

सबैको सद्भाव र आशिर्वादले रजिना मात्र हैन, तिल्पुङबाट एमालेको टीमले नै चुनाव जित्यो । रजिना ३५३ मत ल्याएर बिजयी भइन् । बुढाथोकी परिवारमा जननिर्वाचित प्रतिनिधिको दियो फेरि जाग्यो ।

वडामा चुनाव जितेकी रजिना गाउँकार्यपालिका सदस्यमा निविरोध निर्वाचित भइन् । सहिद परिवार र अपाङ्ग समेत भएकी र पढेलेखेकी महिला भएका कारण उनलाई गाउँकार्यपालिकाको सदस्यमा ल्याउनु पर्छ भनेर अरुले नै पहिलो प्रस्ताव राखे । त्यो प्रस्तावमा कसैले पनि विमति नजनाएपछि उनी स्वतः गाउँकार्यपालिका सदस्यमा निर्वाचित भइन् ।

रजिनाको अबको योजना

चुनाव जितेपछि घरमै भेटिएकी रजिनाले भनिन्–म केही ढीलो गरी राजनीतिमा लागेंछु । तर, अब राजनीतिलाई नै निरन्तरता दिन्छु । मेरो घर परिवार केही हेर्नु छैन । त्यसैले अबको पुरै समय समाज सेवामा लगाउँछु । नियम कानुनहरुका बारे मलाई त्यति थाहा छैन । त्यसैले पहिला त नियम कानुन पढ्नुपर्यो । त्यसपछि कानुनले गरेको व्यवस्था अनुसार महिला, अपाङ्ग भएका नागरिक र जेष्ठ नागरिकहरुको लागि काम गर्छु । मेरो बुबाले देखाउनुभएको बाटोबाट म विचलित हुन्न ।

यति भनिरहँदा ती अपाङ्ग जनप्रतिनिधिका आँखाबाट आँशुका थोपा खसिरहेका थिए, शहीद पिताको सम्झनामा । उनले पिताको पितृत्व त सानै उमेरमा गुमाइन्, तर असल पिताकी असल छोरी बनेर फेरि पनि गाउँको सेवा गर्ने अवसर उनलाई गाउँलेले दिएका छन् । युद्धमा उनका निहत्था पिता मारिएका थिए, राज्यका अदालतबाट न्याय नपाए पनि बुढाथोकी परिवारले जनताको अदालतबाट न्याय पाएको छ, १५ वर्षपछि ।     अनलाइन खबरबाट साभार

 

 

प्रतिकृया दिनुहोस