काँचुलि फेर्दै रंगशाला

Rangashala

विराटनगर । विराटनगरको सहिद रंगशालाला नयाँ स्वरूपमा तयार भएको छ । गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका लागि स्तरोन्नति सुरु गरिएको रंगशालाको काम झन्डै ६ महिनापछि तयार भएको हो । रंगशालालाई तार जालीले फेन्सिङ घेर्ने काम तथा दुबो उमार्ने काम पूरा भएको छ । सातौं राष्ट्रिय खेलकुद समाप्त भएपछि सबै प्रयोजनका लागि प्रयोगमा रोक लगाउँदै मैदानको अवस्था सुधार्ने काम सुरु गरिएको थियो।

वरिपरि तारजाली गरिएपछि रंगशालाको स्वरूपमा नै निकै परिवर्तन आएको छ । जिल्ला खेलकुद विकास समिति मोरङका अनुसार अर्को महिनाबाट रंगशाला खेल प्रयोजनका लागि भाडामा दिने तयारी भएको छ । रंगशालाको उत्तर र पूर्वपट्टि प्यारापिट निर्माण गरिएको छ भने पश्चिम र दक्षिणतर्फ रहेको प्यारापिटको मर्मत गरिएको छ ।

मैदानभित्र माटो भरेर लेबलिङ गरी मैदानबाट पानी बाहिर पठाउन पाइप जडान गर्ने र हरियो दुबो उमार्ने काम पूरा भएको छ । जिल्ला खेलकुद समिति मोरङका कार्यालय प्रमुख देवराज कटुवालका अनुसार मैदानबाहिरको निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् राखेप तथा मैदानभित्रको कामका लागि विराटनगर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । प्यारापिट निर्माण र मर्मतसम्भारलगायत निर्माणका लागि ८० लाख रुपैयाँ खर्च भएको छ भने मैदानभित्रको निर्माणका लागि ६५ हजार रुपैयाँ खर्च भएको छ ।

जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यले सहिद रंगशालाको स्तरोन्नति निरन्तर जारी रहने बताए । मैदान अझै राम्रो बनाउन सकिन्छ । भविष्यमा पनि हामी आर्थिक सहयोग जुटाएर सहिद रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनेछौुं, अध्यक्ष अमात्यले भने, अहिलेलाई आगामी एक महिनाभित्र खेल्न मिल्ने बनाउनेछौं । अध्यक्ष अमात्यले रंगशालालाई प्रतियोगिता आयोजनाका लागि मात्रै प्रयोग गरिने जनाए।

अमात्यले खेलकुद विकास समितिले उसु, करातेलगायत अन्य खेलका खेलाडीलाई अभ्यास गर्न मैदानबाहिर इँटाको धुलो प्रयोग गरी नयाँ ट्र्याक निर्माण गर्न लागेको पनि जानकारी दिए । मैदानमा यति खेर विराटनगर महानगरकै आर्थिक सहयोगमा सोलार बत्ती जडान कार्य पनि सुरु गरिएको छ । रंगशालाभित्र जडान गर्न लागिएको ३५ थान सोलार बत्तीका लागि महानगरले ६० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...