राष्ट्रिय खेल भलिबल : खेल क्षेत्र उत्साहि

Vally ball

काठमाडौँ, । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ

करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो ।

लामो समयको अध्ययन एवम् विश्लेषणपछि युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको हो । विश्व खेल मञ्चमा फुटबल र क्रिकेटको ‘क्रेज’ अत्यधिक रहेका बेला सरकारले भलिबल खेललाई राष्ट्रिय खेल बनाएपछि कतिपय खेल सङ्घका पदाधिकारीले सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार भलिबल खेलको लोकप्रियता र सर्वसुलभतालाई पनि छनोटमा आधार मानिएको छ । प्राथमिकताका आधारमा ती खेलमा एकदेखि १३ सम्म क्रमशः भलिबल, तेक्वान्दो, कबड्डी, क्रिकेट, एथलेटिक्स, बाघचाल, फुटबल, कराँते, डण्डीबियो, उसु, बक्सिङ, जुडो र बास्केटबललाई सिफारिस गरिएको थियो ।

सिफारिस भएका खेलमध्ये मन्त्रालयले विभिन्न चरणमा छलफलपछि भलिबल, कबड्डी र उसुमध्ये एक खेललाई राष्ट्रिय खेल बनाउन सकिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएपनि त्यतिबेला निर्णय हुन सकेको थिएन । तर तीन वर्षपछि खेलकुदमन्त्री दलजित श्रीपाइलीको पहलमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको हो ।

मन्त्रालय स्रोतका अनुसार यसअघि लिखित रुपमा कुनै पनि खेललाई सरकारले आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता दिएको थिएन । अन्तर्राष्ट्रिय प्रचलनअनुसार एउटा राष्ट्रिय खेल अपरिहार्य भएकाले पनि अहिलेको निर्णय गरिएको हो ।

मन्त्री श्रीपाइलीले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिलाउन आफूले सक्दो प्रयास गर्दै आएको बताए । डण्डीबियो र कतिपयले कबड्डीलाई नेपालको राष्ट्रिय खेलका रुपमा बुझ्दै आएका भए पनि यो सबैलाई स्वीकार्य थिएन ।

अन्तर्र्राष्ट्रिय भलिबलमा सहभागिता जनाएको चार दशकपछि केही महिनाअघि पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्न सफल भलिबल आन्तरिक रुपमा सबैभन्दा बलियो सङ्गठन भएको खेल हो । भलिबलको सबै जिल्लामा सङ्घ छ । यसले पनि भलिबललाई राष्ट्रिय खेलको मान्यता पाउन मद्दत पुगेको देखिन्छ ।

प्रतिकृया दिनुहोस