हेरालुको भरमा ग्रामीण सडकमा

५४ जना हेरालुले थामेका छन् जिल्लाका सडक

Sadak heralu

तेह्रथुम, । पूर्वी पहाडी जिल्लाका अधिकांस ग्रामिण सडक वर्षात्का समयमा चल्दैनन् । तर, तेह्रथुमका सडकमा भने यतिवेला जुनसुकै समयमा पनि गाडी गुडिरहने गर्छन् ।

यसरी सधैँ गाडी चल्ने अवस्था आउुनको एउटै मात्र कारण स्थानीयले सडक हेरालु राख्नु हो । जिल्लाका कच्ची तथा निर्माणाधीन ग्रामीण क्षेत्रका सडकमा हेरालु राखेपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सजिलो भएको छ ।

हेरालु राखेपछि सडकको गुणस्तर खस्कन नपाउँदै मर्मत हुने गरेकाले आवतजावतमा सजिलो भएको छ । हेरालु राखेपछि वर्षाका दिनमा पनि यातायात सञ्चालन हुन थालेको छ ।

हेरालुले सडकमा खसेका सानातिना ढुंगा र पहिरो हटाउने, झाडी पन्छाउने, बगेको पानी कटाउने, नाली बिग्रिएका ठाउँमा बनाउने, ठूलो क्षति भएका तथा सम्भावित भए सोको जानकारी गराउनेलगायत काम गरिरहेका छन् । गत वर्षदेखि नै जिल्लाभरका ७ वटा कृषि सडकमा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ५४ जना सडक हेरालु राखेको छ ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख भरतकुमार यादवले सडकको नियमित रेखदेख र मर्मत सम्भारमा सघाउ पुग्ने गरी राखिएका हेरालुले सडकको स्तर गिर्न नदिने र सडक सफा राख्ने गरेको बताए ।

कार्यालयले जिल्लाका म्याङलुङ–ओख्रे–शुक्रबारे–दाँगपा खण्डमा २० जना हेरालु राखिएको छ । शेर्मा–जलजले–इसिवु सडकखण्डमा १० जना, इसिवु–खाम्लालुङ–सक्रान्तिबजार सडकखण्डमा १३ जना, जिरिखिम्ती–आम्बुङ–मोराहाङ–श्रीजुङ खण्डमा ३ जना हेरालु राखिएको छ । जिल्लाको म्याङलुङ–नागदह–पिप्ले सडकमा २ जना, फाक्चामारा–पन्चकन्या पोखरी सडकखण्डमा ३ जना र किराँतेश्वर–महादेव–पौठाक सडकमा ३ जना सडक हेरालु रहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

यसरी राखिएका हेरालु छनोट गर्दा महिला, दलित, जनजाति र द्वन्द्वपीडितलाई प्राथमिकता दिएकाले उनीहरुको जीवनयापनमा पनि सहज भएको छ । सडक हेरालुको रुपमा काम गर्न थालेपछि आफ्नो जीविकोपार्जनमा समेत सहयोग पुगेको पञ्चकन्याकी चन्द्रमाया लावतीले बताइन् ।

प्रतिकृया दिनुहोस