पाकिस्तानको राजनीतिक भेलामा बम विष्फोट हुँदा ३५ जनाको मृत्यु, सयौं घाइते

Pakistan after explosion at islamist political rally

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते भएका छन् भने मृत्यु हुनेको संख्या ३५ पुगेको हो ।

खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरलाई उद्धृत गर्दै एएफपीले एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रममा विष्फोट भएको जनाएको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको खार सहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विष्फोट गराइएको अनुमान प्रहरीले गरेको समाचारमा उल्लेख गरिएको छ । कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् । साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए ।

बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम(फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ । बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । जवकि गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् । साथै विस्फोटको समयमा जमियत उलेमा इस्लाम/फजलको कार्यक्रममा ५ सयभन्दा धेरै मानिस भेला भएका थिए ।

 

प्रतिकृया दिनुहोस