राष्ट्रपति निर्वाचनले तात्यो राजनीति, बालुवाटारमा प्रचण्ड र केपी ओलीबीच २ घण्टा ‘वान टु वान’ वार्ता

Kp oli prachanda baluwatar

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा लामो वार्तापछि सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् ।

दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । अध्यक्ष अ‍ोलीले पूर्व सहमति अनुसार एमालेले अध्यक्ष पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् ।

बुधबार बिहान १० बजेर ४० मिनेटदेखि सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारको टुंगो गर्ने जिम्मा प्रचण्डलाई दिएको सन्दर्भमा दुई नेताबीच वार्ता भएको हो । पुस १० को सहमतिअनुसार राष्ट्रपति आफ्नै दलबाट हुनुपर्ने अडानमा रहेका ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि मिलाएर लानुपर्ने पक्षमा रहेका प्रचण्डबीच अझै कुरो मिल्न सकेको छैन ।

गत पुस २६ गते आफूलाई विश्वासको मत दिएपछि राष्ट्रपतिमा कांग्रेसलाई पनि समेटेर लैजाने प्रचण्डको अडानले सत्ता गठबन्धन दलहरुबीच खटपट बढिरहेको छ । यस्तोमा ओलीले बालुवाटार पुगेर प्रचण्डसँग संवाद गरेका हुन् । प्रचण्डको अडानले एमालेबाट राष्ट्रपति नहुने सम्भावना भइरहँदा ओली विकल्पको खोजीमा लागिरहेका छन् ।

उनले एमालेबाटै फुटेर गएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा अघि बढाउने चर्चा छ । तर उता कांग्रेसले भने राष्ट्रपतिमा आफूलाई सघाए प्रचण्डलाई पाँचै वर्षका लागि प्रधानमन्त्रीमा समर्थन गर्ने औपचारिक प्रस्ताव गरिसकेको छ । यस्तोमा प्रचण्डले आफ्ना दुई खुट्टा दुईतिर राखिसकेको निष्कर्ष निकालेको एमालेले राष्ट्रपतिबारे निर्णय लिन दबाब बढाउँदै लगेको छ ।

फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ । पुस २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ । बुधबार मात्रै निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...