माओवादी र एकीकृत समाजवादीबीच खुल्यो एकताको ढोका, दस्तावेज साटासाट

Prachanda madhav nepal

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु भएको छ ।

आइतबारदेखि दुई पार्टीका एकता संयोजन समितिले वार्ता सुरु गरेका हुन् । पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, दुई पार्टीका दस्तावेज आदानप्रदान भएको जनाइएको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएपछि साविक एमाले र माओवादी अलग अलग भएका थिए । एमालेबाट पनि अलग भएको एकीकृत समाजवादी र माओवादीबीच पार्टी एकता गर्ने गरी वार्ता थालेको हो ।

आजदेखि निरन्तर सम्वाद सुरु भएकोले पार्टी एकताको बिन्दुसम्म यात्रा तय गरिएको छ । सम्वादमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता रहेको थियो ।

यता, चुनावमा अपेक्षाकृत मत नपाएको आन्तरिक विश्लेषण गरेका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पनि एकताको प्रक्रिया अघि बढेको छ ।

दुवै पार्टीद्वारा गठित वार्ता समितिबीच दुई पटकको वार्तापछि शनिबार एक अर्काको दस्तावेज हस्तान्तरण भएको छ । राजनीतिक दस्तावेजको आदान–प्रदान भएसँगै एकता प्रक्रिया अघि बढेको दुवै पार्टीका नेताहरुले बताएका छन् ।

जसपाले गठन गरेको वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले अब राजनीतिक दस्तावेजको अध्ययन गरेर दुई पार्टीबीच रहेका समानता र असमानता खुट्याउने काम हुने बताए । एकीकृत समाजवादीका उपमहासचिव एवम वार्ता टोली सदस्य प्रकाश ज्वालाले पनि दस्तावेज आदान प्रदानले एकता प्रक्रियालाई अघि बढाएको बताए ।

प्रतिकृया दिनुहोस