उपसभामुखमा २ जनाको उम्मेदवारी, शनिबार दिउँसो १ बजे निर्वाचन हुने

Indira and mukta

काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।

उनीहरूले शुक्रबार संघीय संसद् सचिवालमा छुट्टाछुट्टै पुगेर मनोनयन दर्ता गरेका हुन् । रानालाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

चर्चित सामाजिक अभियन्तासमेत रहेकी राना मगर शनिबार हुने उपसभामुखको निर्वाचनमा निर्वाचित हुने करिब निश्चित जस्तै छ । अहिलेसम्म सभामुखमा घिमिरेको समर्थनमा उभिएका दलहरुको संख्याका आधारमा उपसभामुखमा रानामगरको जित निश्चित छ ।

रानामगरको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्रब पार्टी (रास्वपा) का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्। यस्तै स्वतन्त्र तीन सांसदले पनि उनलाई नै साथ दिने सम्भावना छ । यस्तो हुँदा रानामगरको पक्षमा १६९ सांसद हुनेछन् ।

कांग्रेसबाट उसभामुखकी उम्मेदवार यादवको पक्षमा अहिलेसम्मको अवस्थामा बहुमत पुग्ने सम्भावना छैन । यादवको पक्षमा नेपाली कांग्रेसका ८८ एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ सांसद मात्रै हुँदा सभामुखमा जस्तै पराजय हुने अवस्था छ ।

प्रतिकृया दिनुहोस