सभामुखको निर्वाचनमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा देउवालाई

Sher bahadur deuba

काठमाडौं । नेपाली कांग्रेसले माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । आलोचनाकै बीच देउवाले आज पदाधिकारी बैठक बोलाएका थिए ।

देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख, उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने/नउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए । यस्तै प्रदेश सभामुख र उपसभामुख निर्वाचनबारे निर्णयको अधिकार प्रदेश कार्यसमितिलाई दिने निर्णय पनि गरिएको छ ।

ती नेताका अनुसार बैठकमा पार्टी केन्द्रीय समिति बैठकअघि नै भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । कांग्रेसको महिला संघ, तरुण दल, नेविसंघलगायतमा अध्यक्ष मात्रै नियुक्त गरिएको छ । अन्य पदाधिकारी तोकिन बाँकी छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आउँदो माघ १५ गतेका लागि बोलाइएको छ ।

प्रतिकृया दिनुहोस