सातै वटा प्रदेशले पाए मुख्यमन्त्री, कुन प्रदेशमा कसको हातमा पुग्यो चाबी ? (सुचीसहित)

Sar pradesh mukhyamantri

काठमाडौं । सातै वटा प्रदेशमा नयाँ मुख्यमन्त्री पाएको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो ।

नयाँ गठबन्धन बनेसँगै प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । वाग्मती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जनता समाजवादीले मुख्यमन्त्री पाएको छ । प्रदेश सरकारलाई उसले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने निश्चित भएको छैन ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर, माओवादीले आलोपालो नगरिए सरकारमा सहभागिता नजनाउने बताउँदै आएको छ ।

प्रदेश १ प्रदेश सभाको सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद सत्ता पक्षमा छन् ।

प्रदेश २ मा जसपाका सरोज यादवले मुख्यमन्त्रीको नियुक्ति भएका छन् । मधेश प्रदेशमा साढे २ वर्षपछि सिके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री बनाइने छ । मधेस प्रदेश सरकारको प्रमुख जसपाले पाउने काठमाडौंमा सहमति भएकै दिन जनकपुरमा जसपाले प्रदेश सभा संसदीय दलको नेता चयन गरेको थियो ।

मधेसमा सभामुख एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको छ । १ सय ७ सदस्यीय मधेसमा एमालेका २३, जसपाका १६, जनमतका १३ र माओवादीका ९ सहित सत्तापक्षमा ६१ सांसद पुग्छन् ।

वाग्मती प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जमकट्टेलले भने विश्वासको मत लिने मिति तय गरिसकेका छन् । उनी यसअघि पनि प्रदेश सरकारमा मन्त्री थिए ।

उनले २०७४ यता ४२ महिना आन्तरिक मामिला तथा कानुनमन्त्री र १५ महिना आर्थिक मामिला तथा योजनामन्त्री भएर प्रदेश सरकारको अनुभव सम्हालेका थिए । १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा एमालेबाट २७, माओवादीबाट २१ र राप्रपाबाट १३ जना सांसद रहेकाले गठबन्धनको पक्षमा सांसद संख्या ६१ पुग्छ ।

गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अधिकारीले सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको नियुक्ति लिएका थिए ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार गण्डकीमा सभामुख माओवादी र उपसभामुख एमालेबाट चुनिने छन् । गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ । गण्डकीमा सत्तापक्षमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ गरी ३२ सांसद अधिकारीको पक्षमा छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी बुधबार नियुक्त भएका छन् । उनी पौडेलको निर्वाचन क्षेत्र रुपन्देही २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशमा सभामुख माओवादी र उपसभामुख राप्रपाबाट बन्नेछन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्तिका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३ र स्वतन्त्र २ सहित गठबन्धनको पक्षमा ५८ सांसद छन् ।

पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी भएका माओवादी केन्द्रका रामकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका छन् । रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित शर्मा माओवादी उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् ।

केन्द्रको सहमति अनुसार पाँच वर्ष मुख्यमन्त्री हुने भनिए पनि प्रदेशस्तरमा साढे २ वर्षमा सरकारको नेतृत्व फेर्ने सहमति एमाले र माओवादीबीच भएको छ । कर्णालीमा सभामुख एमाले र उपसभामुख माओवादीबाट हुनेछन् । कर्णालीको ४० सदस्यीय प्रदेशसभामा माओवादीबाट १३, एमालेबाट १०, राप्रपाबाट १ गरी सत्तापक्षमा २४ प्रदेश सभा सदस्य छन् ।

शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सदस्यले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ ।

सुदूरपश्चिमले समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा आएका सदस्यलाई मुख्यमन्त्री पाएको छ । एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रसिंह रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सुदूरपश्चिममा सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्ति पार्टीबाट चुन्ने सहमति भएको छ । जसअनुसार सुदूरपश्चिम प्रदेश सभा सभामुखमा माओवादी केन्द्रले भीम भण्डारीलाई मनोनयन गर्न लगाएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७, जनमतबाट ४ र राप्रपाबाट १ गरी ३३ प्रदेश सभा सदस्य सत्तापक्षमा छन् ।

निर्वाचन पूर्व कांग्रेस र माओवादी लगायत दलहरू एकातिर तथा एमाले र राप्रपा लगायत दलहरू अर्को गठबन्धन भई चुनावमा गएकोमा सरकार गठनमा भने त्यो तालमेल फेरिएको छ । संघ र प्रदेशमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमतलगायतका पार्टीहरूको सरकार बनेको छ । कांग्रेसले केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको बेन्चमा बस्ने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...