माघ ५ गते सभामुखको निर्वाचन हुने

Samsad bhawan

काठमाडौं । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।

प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनालाई सभामुख चयन गर्नेछन् । सत्तारुढ दलहरूबीच सभामुख नेकपा (एमाले) लाई दिने सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसद्लाई जानकारी गराएका हुन् । त्यस अवसरमा उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उक्त निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए ।

सभाका ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीबारको दिन तोकेँ । साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसद्को महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलबारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु ।’

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले दाहाललाई समर्थन गरेका छन् ।

प्रतिकृया दिनुहोस