प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असाधारण बहुमत, २६८ जनाले गरे पक्षमा मतदान

प्रेम सुवाल र चित्रबहादुर केसीले मात्रै किन दिएनन् मत ?

Prachanda puspakamal dalah biswashko bat

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन् ।

मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ । उनको प्रस्तावको विपक्षमा जम्मा दुई मत परेको छ । मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन् । प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए । संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे । यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो । त्यस्तै ३ स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिलेको छ । अर्थात् उनको पक्षमा पूरै संसद उभिएको छ । उनलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि राष्ट्रिय सहमति सहितको सरकारको नेतृत्व मिलेको छ ।

प्रतिकृया दिनुहोस