गठबन्धन टुटेको १५ दिनपछि देउवा-प्रचण्ड ‘वान टु वान’ भेट, विश्वासको मत दिने देउवाको वचन

Sher bahadur deuba prachanda meet

काठमाडौं । पुस १० गते तत्कालिन पाँचदलीय सत्ता गठबन्धन भंग गरेर नेकपा (एमाले) सँग मिलेपछि पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । सो भेट विश्वासको मत माग्ने एउटा कारण थियो ।

नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने आवाज उठिरहेका बेला सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको संकेत गरेका थिए । देउवा र प्रचण्डबीच २०७७ फागुनदेखि सहकार्य थियो । २०७८ असारदेखि उनीहरु सत्ता सहकार्यमा थिए ।

धुम्बाराहीमा प्रचण्डले देउवासँग विश्वासको मत दिन आग्रह गरेको स्रोतले जनाएको छ । प्रचण्डलाई अहिले १६९ सांसदको समर्थन छ । यस्तोमा यसलाई राष्ट्रिय स्वरुप दिनुपर्ने आवाज उठिरहेका बेला प्रचण्ड धुम्बाराही पुगेका हुन् ।

सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका हुन् ।

मंगलबार बिहान बोलाइएको संसदीय दलको बैठकले विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय लिनेछ । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।

प्रधानमन्त्री दाहालले मंगलबार बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि उनी कांग्रेस सभापति देउवा निवास पुगेका हुन् । भेटमा कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का र कृष्ण सिटौलासमेत सहभागी थिए । देउवाले व्यक्तिगत रूपमा विश्वासको मत दिने वचन दिए पनि पार्टीले भने आधिकारिक निर्णय गर्न बाँकी छ ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका भने पार्टी प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् । महामन्त्री थापाले पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउँदै आएका छन् । संसद्को दोस्रो, तेस्रो दल लगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा पहिलो दल कांग्रेसले विश्वासको मत दिन नहुने थापाको भनाइ छ ।

कांग्रेसबाहेक सबैजसो दलको समर्थन जुटाएका दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ । सभापति देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्न प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् ।

विश्वासको मत दिँदा एमालेसँग माओवादीलाई अलग गराएर सत्ता बदल्न सकिने उनीहरूको तर्क छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् । उनीहरू दाहाललाई विश्वासको मत दिँदा पार्टी अर्को दुर्घटनामा पुग्ने चेतावनी उनीहरूले नेतृत्वलाई दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस