२ पटक संसद विगठन गरेका ओलीले संसदमा भने, सत्तारुढ गठबन्धन प्रतिगमनको पक्षमा छैन

Kp oli 25

काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन प्रतिगमनको पक्षमा नरहेको बताएका छन् । आफू प्रधानमन्त्री भएको बेला दुई(दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यो काम सही भएको जिकिर गरेका थिए ।

वर्तमान सत्ता समीकरण राष्ट्रियताको पक्षमा जाने ओलीले बताए । उनले राजनीतिक दलहरूलाई सुशासन र भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए । सरकारले तत्काल जनताको पक्षमा लाग्नुपर्ने र सस्तो प्रचारमा लाग्न नहुने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको जिकिर गर्दै भने‚ ‘नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन हो कि ? बेलायतमा त कतिपल्ट प्रतिगमन भएछ त्यसो भए त ? संसदीय प्रणालीको जन्मदाता देशामा प्रतिगमन अस्तिसम्म भएको थियो । यति धेरै जान्ने पनि अलिक नहौं कि ?’

मौकाअनुसारका व्याख्या यति धेरै भएको भन्दै उनले भने, ‘प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकार खोसिनु प्रतिगमन हो । जनताको अभिमतका लागि जनतामा जानु र सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन । संसद्‌बाट सरकार बन्नु, संसद्‌बाट सरकार ढल्नु प्रतिगमन होइन । अन्यत्रबाट सरकार ढाल्ने गरियो भने त्यो प्रतिगमन हो । अहिलेको गठबन्धन प्रतिगमनमको पक्षमा छैन, जाँदैन । सरकार बनाउने र कुठाउँबाट सरकार बनाउनेमा जाँदैन, जानु हुँदैन ।’

प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सोमबार एमाले अध्यक्ष ओलीले सरकार गठन हुन नपाउँदै ढलाउने खेलतिर लाग्न थालेको भन्दै जनता र देशका लागि कहिले काम गर्ने हो भन्ने प्रश्न गरेका थिए । उनले भने, ‘सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ ।’

नयाँ राजनीतिक दलहरूको उदयले पनि जनताले स्थिरता र विकास चाहेको देखिएको ओलीको भनाइ थियो । जनताले सरकारमा परिवर्तन खोजेकाले संसद्‌मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति रहेको उनले बताए । सरकार जनताको काम गर्नका लागि गठन हुनुपर्नेमा नेताहरूको सम्मानका लागि हुने गरेको भन्दै उनले थपे, 'व्यक्तिको मान सम्मानका लागि होइन देशमा उन्नति गर्नका लागि सरकार बनाउनुपर्छ । देश चलाउन, जनताका निम्ती काम गर्न सरकार चलाउनुपर्छ ।'

प्रधानमन्त्री र मन्त्री बन्नका लागि बन्न नहुने जनताको काम गर्नका लागि हुनुपर्ने ओलीको भनाइ थियो । उनले सांसदहरू पनि बन्नका लागि नभई काम गर्नका लागि जिम्मेवारी प्राप्त भएको बुझ्नुपर्ने धारणा राखे ।

 

प्रतिकृया दिनुहोस