बल्ल मिल्यो प्रदेशको भागबण्डा, कुन प्रदेशमा कसले के पाउने सहमति बन्यो ?

एमालेलाई ४, माओवादी २ र जसपालाई मधेस

Satta gathabandan dal baithak

काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, मा‌ओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो ।

सहमति अनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ । बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा ५ वर्ष सरकार चलाउने भएको हो । कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने छ ।

नेकपा एमालेले प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाउने भएको छ । प्रदेश १ मा आजै एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनिसकेका छन् । मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिने सहमति भएको छ । बाग्मती र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले पालैपालो पाउने छन् ।

बाग्मतीमा माओवादी केन्द्र शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादी राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रबहादुर रावल संसदीय दलका नेता छन् । वाग्मती प्रदेशमा एमालेका जगन्नाथ थपलिया, कर्णालीमा एमाले यमलाल कँडेल र सुदूरपश्चिममा मा‌ओवादी केन्द्रका खगराज भट्ट संसदीय दलका नेता छन् ।

सभामुखबारे पनि गठबन्धन दलले भागबण्डा मिलाएका छन् । आइतबार भएको निर्णयअनुसार मधेश र कर्णाली प्रदेशमा एमालेले सभामुख लिने भएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ ।

बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ । बागमतीमा निर्णायक रहेको राप्रपाले मुख्यमन्त्री दाबी गर्दै आएको थियो । प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्नेछन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउनेछन् । मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले उपसभामुख पाउने छन् ।

प्रतिकृया दिनुहोस