माओवादीले बनायो वाम एकता गर्न वार्ता टोली, कोसँग गर्ला त एकता ?

भट्टराईको पार्टीसँग एकता पक्का, अरुसँग अनिश्चित

Krishna bahadur mahara

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताको पहलका लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ । यही बेला माओवादीले पनि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो ।

एकीकृत समाजवादी र जनता समाजवादीबीच एकताका लागि औपचारिक पत्र आदान प्रदान भइसकेको छ । यद्यपि राजनीतिक कार्यदिशा, समाजवादी व्यवस्था आदी विषयमा छलफल हुन भने सकेको छैन । औपचारिक रुपमा एकता वार्ता नभए पनि शीर्ष नेताहरुबी अनौपचारिक रुपमा पार्टी एकताको छलफल भएको छ । देस्रो तहका नेता तथा कार्यकर्ताहरु पार्टी एकताको पक्षमा छन् ।

एकीकृत समाजवादी र जनता समाजवादीले पार्टी एकताका लागि वार्ता समिति बनाएलगत्तै माओवादी केन्द्रले पनि वाम एकताको प्रयासको लागि वार्ता समिति बनाएको छ । वार्ता समिति नबनाउँदै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताको अन्तिम तयारी भइसकेको छ ।

माओवादीले बनाएको वार्ता टोलीमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताकै विषयमा दाहालसँग डा. भट्टराईलगायत नेताले शनिबार मात्रै वार्ता गरेका थिए । चुनावअघि नै एकीकृत समाजवादी र माओवादीले एकता संयोजन समिति बनाएका थिए । तर त्यसमा खासै प्रगति भने हुन सकेन । अहिले माओवादी सत्तामा पुगिसकेको छ भने एकीकृत समाजवादी अझैं अनिर्णित छ । प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि एकीकृत समाजवादीले निर्णय गरिसकेको छैन ।

वाम एकताको पहल गर्ने सहमति हुँदाहुँदै प्रचण्डले खुसुक्क नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार बनाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुष्ट छन् । यसकै कारण पनि प्रचण्डलाई विश्वासको मत दिन हिच्किचाइरहेको छ । यसको अर्थ तत्काल एकीकृत समाजवादी र माओवाीबीच एकता हुने देखिएको छैन ।

प्रतिकृया दिनुहोस