माधवकुमार नेपाल भन्छन्, यही अवस्थामा एमालेसँग एकता हुँदैन

Madhabkumar nepal 22

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको बताएका छन् ।

अध्यक्ष नेपालले तत्काल अहिलेकै अवस्थामा नेकपा एमालेसँग एकता हुन नसक्ने स्पष्ट पारे । उनले पार्टी एकताका लागि जसपा लगायतका दलसँग छलफल भइरहेको जानकारी पनि दिए ।

केही दिनयता नेकपा एमालेसँग पार्टी एकता गर्ने चर्चा थियो । तर यसलाई अस्वीकार गर्दै अध्यक्ष नेपालले अहिले पार्टी एकताको हल्ला चले जस्तो नभएको र अहिले एकता गर्ने कल्पनासमेत नगरिएको बताए ।

‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो’, उनले भने, ‘जुन गाउँ जानु छैन । जब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अब यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं ।’

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत उनले बताए । अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताका लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए । अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने बताए ।

उनले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिनेबारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताए । सरकार कुन ढंगले अगाडि बढ्छ ? त्यसलाई हेरेर मात्रै विश्वासको मत दिनेबारे निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाइ थियो ।

शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको बताए ।

प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने कार्यतालिका छ । विश्वसको मत लिन प्रचण्डले अहिले हार गुहार गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस