प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेट, सरकारमा सहभागीताबारे छलफल

Prachanda and madhav kumar nepal

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

लामो समयसम्म पनि एकीकृत समाजवादीले सरकार र प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा सरकारमा सहभागी बन्न र सरकारलाई विश्वासको मत दिन आग्रह नै नगरेको टिप्पणी भएरहेका बेला बुधबार प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा भएको छ । एकीकृत समाजवादीको चार दिन लामो बैठक सरकारमा जाने नजाने केही निर्णय गरेको छैन ।

कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्दा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको गुनासो नेपालले गर्दै आएका छन् ।

भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । प्रचण्डले संसदमा आगामी पुस २७ गते विश्वासको मत लिने तय भएको छ ।

यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै सरकारलाई समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताए । बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए ।

‘हामी अगाडि सरेर बोल्न के हतार रु हामीलाई के बित्दो छ र रु २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ?’ उनले भने, ‘त्यतिन्जेल सस्पेन्समै रहोस् ।’

उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए । ‘पोलिटिकल सिनारियो क्लियर हुनुपर्‍यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन’ उनले भने, ‘प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के के गर्छन् थाहा छैन ।’

 

प्रतिकृया दिनुहोस