नेपाललाई फकाउँदै प्रचण्ड, नातेदारको घरमा प्रचण्डले भेटे नेपाल र यादवलाई

Prachanda nepal yadav

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।

सरकारमा सहभागी हुनेबारे ‘पर्ख र हेर’ नीति लिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच संवादको वातावरण बन्दै गएको छ । एमाले नेतृत्वमा नयाँ गठबन्धन निर्माणसँगै माओवादीमा दोस्रो तहका नेता एकीकृत समाजवादीका नेतासँग निरन्तर संवादमा छन् ।

आफूहरुसँगको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आएका छन् । प्रचण्डले असन्तुष्ट पक्षलाई फकाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको सो पार्टीका नेताहरु बताउँछन् ।

नेकपा माओवादी केन्द्रका एक नेताले यही पुस २५ गते संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार हुनसक्ने बताए । ‘सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री र नेपालबीच छलफल गर्ने कुरा भएको छ,’ दाहालनिकट एक नेताले भने, ‘अहिलेसम्म ठोस आकार भने आइसकेको छैन ।’ एमाले अध्यक्ष केपी ओली र नेपालबीच बोलचाल भए पनि तिक्तता भने कायम छ ।

शनिबार पार्टी मुख्यालय तीनकुनेमा आयोजित कार्यक्रममा पनि नेपालले देउवासँग कुरा नमिलेपछि ओलीसँग कुराकानी गर्न सँगै जाने भने पनि दाहाल एक्लै गएको भन्दै चित्त दुखाएका थिए ।

आइतबार शपथग्रहण लगत्तै कीर्तिपुरस्थित पुष्पलाल पार्क पुगेका प्रधानमन्त्री दाहाल र नेपालबीच संक्षिप्त भेट भएको थियो । दाहालले नेपाललाई चाँडै भेटेर छलफल गर्ने जानकारी गराएका थिए । सोमबार दिउँसो वामदेव गौतमले अध्यक्ष नेपालसहितका नेतासँग भेट गरेका थिए । त्यस क्रममा गौतमले नेपाललाई गठबन्धनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए ।

नेकपाभित्र शक्ति संघर्ष चर्किंदा तत्कालीन अध्यक्ष ओलीविरुद्ध दाहाल र नेपाल एकै स्थानमा रहेका थिए । २०७७ पुस ५ मा ओलीले संसद् विघटन गर्दा दाहाल र नेपालले त्यसविरुद्ध कानुनी उपचार खोज्नेदेखि सडक संघर्षसम्मका कार्यक्रम आयोजना गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन प्रचण्डले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

सरकारमा नेकपा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । यसैगरी एमालेकी ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमा राई र जनमत पार्टीका अब्दुल खान मन्त्री छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...