देउवा दम्पत्तिको ‘हठ’ ले कांग्रेसलाई आपत, राजीनामा दिन देउवालाई चर्काे दबाब

Sher bahadur deuba

काठमाडौं । एकाएक सत्ताबाट बाहिरिनुपर्ने बाध्यता आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध तत्काल संसदीय दलको नेता र पार्टी सभापतिबाटै राजीनामा दिन चर्काे दबाब बढेको छ ।

०७४ मा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई ५७ सिटमा पुर्‍याएको जस लिँदै आएका देउवाको सत्ता महत्त्वाकांक्षा गठबन्धनमा आएको नाटकीय मोडसँगै अन्त्य भएको छ भने पार्टीभित्र उनी रक्षात्मक अवस्थामा पुगेका छन् । यस घटनामा कांग्रेसकै केही नेताले देउवाको ‘हठ’ लाई मुख्य जिम्मेवार ठर्‍याएका छन् । संस्थापनइतर पक्षीय केही नेताले त सामाजिक सञ्जालबाट उनको राजीनामासमेत माग्न थालेका छन् ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’ उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उल्लेख गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद नछाड्न ‘अन्तिम घडी’ सम्म हठ गर्दा कांग्रेस संघदेखि प्रदेशका सबै नेतृत्वदायी भूमिकाबाट विमुख भएसँगै कांग्रेसभित्र तीव्र अुन्तुष्टी बढेको छ । यसको रणनीति बनाउने भूमिकामा सभापति देउवा र श्रीमती आरजु मात्र सक्रिय रहेका थिए ।

देउवालाई यो हदमा पुर्‍याउनमा राज्यसत्ता सञ्चालनमा हावी हुन खोज्ने पत्नी आरजुको मुख्य भूमिका रहेको बुझाइ कांग्रेसजनमा छ । पुस २ मा भएको भेटमा दाहाल र देउवाबीच शक्ति बाँडफाँटबारे छलफल भएको थियो । दाहालले समग्र पद बाँडफाँटको विषय उठाउँदै प्रधानमन्त्री आफूलाई दिन प्रस्ताव गरेका थिए ।

देउवा राजी पनि भएका थिए । तर, आर्जुसहितले पार्टीका सांसदलाई बोलाएर प्रधानमन्त्री र राष्ट्रपति दुबै पद नछोड्न देउवामाथि दबाब दिएकाथिए । जसका कारण प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले अचानक सत्ताबाट बाहिरिनु परेको छ ।

प्रतिकृया दिनुहोस