प्रदेश १ सरकार गठनमा निर्मलाको भूमिका निर्णायक, रोजेको मन्त्रालय लिन ‘अफर’

Nirmala limbu

विराटनगर । प्रदेश १ सरकार गठनका लागि निर्णायक पार्टीको रुपमा रहेको जसपा नेपालकी एकमात्र सांसद निर्मला लिम्बूले आफूलाई मुख्यमन्त्री बाहेक रोजेकै मन्त्रालयको अफर आइरहेको बताएकी छन् । प्रदेश १ मा एक सिटमात्र रहेको जसपा सरकार गठनका लागि निर्णायक शक्ति हो । जसपाको समर्थन बिना प्रदेश १ मा कांग्रेस नेतृत्वको गठबन्धन वा एमाले नेतृत्वको गठबन्धनले सरकार बनाउन सक्ने अवस्था छैन ।

‘प्रस्ताव धेरै आएका छन् । मुख्यमन्त्रीको चाहिँ प्रस्ताव आएको छैन । त्यसबाहेकको सबै मन्त्रालयको प्रस्ताव आएको छ,’ उनले भनिन्, ‘उहाँहरु (मुख्यमन्त्रीका आकांक्षी नेताहरु)ले हजुरले मुख्यमन्त्री चाहिँ नरोज्नुहोला, अन्य जुन मन्त्रालय रोज्नुहुन्छ, दिन्छौं भन्ने कुरा गर्नुहुन्छ ।’

यद्यपि, उनी भने पार्टीले गर्ने निर्णयका आधारमा आफूले भूमिका निर्वाह गर्ने बताउँछिन् । उनले भनिन्, ‘मैले रोज्ने कुरा होइन । पार्टीले जुन मन्त्रालय डिल गर्छ, पार्टीले जे डिसिजन गर्छ, त्यही नै हो भनेर जवाफ दिएको छु ।’

काठमाडौंमै रहेकी उनले शपथ ग्रहणको सूचना पाएपछि मात्रै विराटनगर आउने बताएकी छन् । ९३ जना सांसद रहेको प्रदेश १ मा सत्ता गठबन्धन अन्तर्गत कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ गरी ४६ सांसद पुग्छ ।

यस्तै एमालेको ४०, राप्रपाको ६ र जसपाका १ सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा मिल्दा पनि एक जना नपुग्ने र सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी मिल्दा पनि एक जना सांसद नपुग्ने अवस्थाले उनै लिम्बू ‘स्ट्राइकर’ बनेकी छन् ।

उनले जता समर्थन गर्‍यो त्यतै सरकार बन्ने अवस्था छ । जसका कारण प्रदेश १ का लागि लिम्बू तथा उनको पार्टी जसपाले लिने निर्णय महत्त्वपूर्ण बन्ने देखिन्छ । उनलाई केन्द्रका पार्टी अध्यक्षबाहेक सबैजसो स्तरका नेताले फोन गर्ने गरेका छन् । जवाफमा आफूले पार्टी अध्यक्ष उपेन्द्र यादव तथा प्रदेश १ का इन्चार्ज रकम चेम्जोङसँग कुरा गर्नु भन्ने जवाफ दिने गरेको उनी बताउँछिन् ।

नेताहरुले कसरी कुरा गरिरहेका छन् भन्नेबारे सोधिएको प्रश्नमा उनी भन्छिन्, ‘नेताहरुले फोन गरेर आफ्नो पार्टीका नेताहरुसँग कुरा गर्नुहोस् । तपाईको अध्यक्षलाई पनि भन्नुहोला । हामीसँग मिलेर काम गरौं । तपाईले पनि दबाब दिनुहोला भनेर भन्नुहुन्छ ।’

यद्यपि आफ्नो र आफ्नो पार्टीको अहिलेसम्म कुनै डिमाण्ड नरहेको उनको भनाइ छ । ‘मेरो पार्टीका नेताहरुसँग मैले कुनै डिमाण्ड पनि गरेको छैन । मेरो पार्टीको नेताले पार्टीको हितको निर्णय गर्नुहुन्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छिन्, ‘अहिलेसम्म पार्टीले वा मैले व्यक्तिगत हिसावले कुनै पनि मन्त्रालयको डिमाण्ड गर्नुपर्छ वा यो भन्नुपर्छ भन्ने भएकै छैन ।’

अहिलेको सत्ता गठबन्धनलाई या एमालेलाई समर्थन गर्ने भन्ने विषय क्लियर हुन बाँकी रहेको उनले बताइन् । ‘त्यो क्लियर भएपछि कुन मन्त्रालय लिने भन्ने विषयमा हाम्रो पार्टीले छलफल गर्छ,’ उनले भनिन् ।

प्रदेश १ मा एमाले, जसपा र राप्रपाबीच गठबन्धन बनेको थियो । यद्यपि उक्त गठबन्धन निर्वाचन सकिएलगत्तै समाप्त भएको जसपा अध्यक्ष उपेन्द्र यादवले घोषणा गरिसकेका छन् । उता, जसपाले सत्ता गठबन्धनलाई समर्थन गर्ने भन्ने निर्णय पनि गरिसकेको छैन । प्रदेश १ को सरकार गठनका लागि निर्णायक बनेको जसपाको निर्णय नै अहिले सबैभन्दा धेरै चासोको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...