ओलीको कडा निर्देशन : समानुपातिकको मतगणनामा चनाखो बन्नु, मुचुल्काको प्रति म्यासेजमा पठाउनु

Kp oli 15

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी मतगणनामा केही पार्टीका मत वृद्धि अस्वाभाविक भएको बताएका छन् । उनले मतगणनामा गलत कार्य भएको हुनसक्ने भन्दै आशंका पनि व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले शनिबार साँझ सामाजिक सन्जालमार्फत् समानुपातिकको मतगणनामा पनि चनाखो बन्न र त्यस्तो परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेजमा पठाउन निर्देशन गरेका छन् ।

अहिलेसम्मको मतपरिणाम अनुसार एमालेले समानुपातिकतर्फ २१ लाख ६६ हजार ३४३ सय मत ल्याइसकेको छ । यससँगै एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ । एमालेले समानुपातिकतर्फ कांग्रेसलाई ८० हजारभन्दा धेरै मतान्तरले उछिनेको छ । प्रत्यक्षतर्फ भने एमालेको ३९ सिटमा जित घोषणा भइसकेको छ । जारी मतगणनाको क्रममा तीन स्थानमा एमाले अग्रस्थान छ ।

तर, शनिबार केही राजनीतिक दलहरुको समानुपातिक मत बढ्न थालेको भन्दै आक्रोसित शैलीमा समानुपातिक मत यताउता हुनसक्ने भन्दै चनासो हुन र केही भए प्रतिवाद गर्न निर्देशन दिएका हुन् । उनले खासगरी एक वर्षअघि एमालेबाट विद्रोह गरी नयाँ दल बनाएको नेकपा (एकीकृत समाजवादी) लाई केन्द्रित गर्न खोजेका छन् । ओेलीले केही समयअघि एस भन्ने पार्टीले कुनै पनि हालतमा थ्रेस होल्ड कटाउँदै भनेका थिए ।

‘समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ । जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस