यी ‘हेभिवेट’ नेताको हार, जसलाई ५ वर्ष संसदमा देख्न सकिने छैन

पूर्वमन्त्रीहरू राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र रामवीर मानन्धरले जमानतसमेत जोगाउन सकेनन् 

Samsad no intry

काठमाडौं । राष्ट्रिय राजनीतिमा उचाइ बनाएका विभिन्न दलका नेताहरू यसपटक पराजित भएका छन्  । प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको एक तिहाइ नतीजा नआउँदै थुप्रै चर्चित उम्मेदवार पराजित भइसकेका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, माओवादी महासचिव, कांग्रेसका पूर्वमहामन्त्री, पूर्वउपसभामुख, जसपा अध्यक्ष, एकीकृत समाजवादीका उपमहासचिव, सचिवसहित दुई जना बहालवाला मन्त्रीले हार बेहोरेका हुन् ।

यसपटकको निर्वाचनमा पूर्वमन्त्री र पटक–पटक चुनाव जितेका नेताले जमानतसमेत जोगाउन सकेनन् । यसरी जमानत जोगाउन नसक्नेमा पूर्वमन्त्रीहरू राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र रामवीर मानन्धर छन् ।

एक महिनाअघिसम्म मन्त्री रहेका जनता समाजवादी पार्टीका श्रेष्ठको जमानत जफत भएको छ । उनी प्रतिनिधिसभामा काठमाडौं ७ बाट उम्मेदवार बनेका थिए । न्यूनतम १० प्रतिशत मत कटाउन नसक्दा उनको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत कटाउन नसक्नेको जमानत जफत हुने व्यवस्था छ ।

काठमाडौं -५ बाट उम्मेदवारी दिएका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए। पोखरेलले १० हजार १७२ मत पाए भने पौडेल १५ हजार २३७ मत सहित निर्वाचित भए । पार्टीभित्र वैचारिक नेताको छवि बनाएका पोखरेल अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । उनको हारमा एमालेभित्रको अन्तरसंघर्षलाई कारक मानिएको छ ।

माओवादीका महासचिव देवप्रसाद गुरुङ लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका छन् । सत्ता गठबन्धनको साझेदार दल जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्यूठानमा एमालेका सूर्य थापासँग पराजित भएकी छन् । पौडेलले २०७४ मा वाम गठबन्धनका तर्फबाट प्यूठानमा कांग्रेसका गोविन्द पोखरेललाई पराजित गरेकी थिइन् ।

पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग करिब ८ हजार मतान्तरले पराजित भएका छन्  । २०५४ मा पहिलोपटक राष्ट्रिय सभा सदस्य भएका पाण्डे २०६४ मा समानुपातिकतर्फ एमालेबाट संविधानसभा सदस्य भएका थिए । संविधानसभाको सोही कार्यकालमा अर्थमन्त्री भएका उनी २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएर चौथोपटक संघीय संसद्मा पुगेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सप्तरी(२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भए । राउतले ३५ हजार ४२ मत पाए भने यादवले जम्मा १६ हजार ९७९ मत पाए ।

गुल्मी -२ मा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भइन् । झाँक्रीले २६ हजार ४४१ र विष्टले २८ हजार ४७६ मत ल्याए ।

काठमाडौं -१ मा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सत्ता गठबन्धनका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भए । सिंहले सात हजार १४३ र मिश्रले सात हजार १८ मत पाए। पूर्व सञ्चारकर्मी समेत रहेका मिश्र २०७४ मा पनि यही क्षेत्रमा सिंहसँगै हारेका थिए ।

नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती मगर काठमाडौं-२ मा पराजित भइन् । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा चुनाव लडेकी मगर चौथो स्थानमा रहिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित भएको यो क्षेत्रमा गठबन्धनकी उम्मेदवारलाई एमालेका मणिराम फुयाँल र राप्रपाकी कुन्ती पोखरेलले पनि पछि पारे ।

काठमाडौं-४ मा एमाले उम्मेदवार राजन भट्टराई कांग्रेस महामन्त्री गगनकुमार थापासँग पराजित भए । थापाले २१ हजार ३०२ र भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । काठमाडौं-७ मा कांग्रेसका भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भए । खनालले १४ हजार ४०२, एमालेका सर्वेन्द्र खनालले आठ हजार ९११ र प्रधानले आठ हजार ८०५ मत पाए ।

गठबन्धनको समर्थनमा माओवादीको चुनाव चिह्न लिएर काठमाडौं-७ मा उम्मेदवारी दिएकी नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराई तेस्रो स्थानमा आइन् । उनले ६ हजार ६३, एमालेका श्याम घिमिरेले ६ हजार ८०० र रास्वपाका गणेश पराजुलीले आठ हजार ७४३ मत ल्याए ।

वा संघको अध्यक्ष हुँदा चर्चामा आएका एमाले नेता महेश बस्नेत भक्तपुर–२ मा कांग्रेस जिल्ला सभापति दुर्लभ थापासँग ९ सय ५७ मतान्तरले पराजित भएका छन् । थापाले २४ हजार २ सय ३९ ल्याएर पहिलोपटक संघीय संसद्को यात्रा तय गर्दा बस्नेत २३ हजार २ सय ८२ मा रोकिए । बस्नेत ०७० को संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट पराजित भए पनि उनलाई एमाले अध्यक्ष ओलीले उद्योगमन्त्री बनाएका थिए । २०७४ मा भने उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझीसँग पराजित भएका छन् । उनको पराजयमा सत्ता गठबन्धनभित्रको अन्तरसंघर्षलाई प्रमुख कारक मानिएको छ ।

काठमाडौं-९ मा माओवादीकी कल्पना धमला र साझा पार्टी नेपालका मिलन पाण्डे पराजित भए । पाण्डेले दुई हजार ३२७, राप्रपाका देवेन्द्र प्रधानले चार हजार ७८५, माओवादीकी धमलाले ६ हजार ४०२, रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ र एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाए ।

काठमाडौं-१० मा माओवादी नेत्री अञ्जना विशंखेले पाँच हजार २६२ मत प्राप्त गरिन् । यो क्षेत्रमा कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४५८, एमालेका हिमेश केसीले ११ हजार ७८६ र रास्वपाका प्रदीप विष्टले आठ हजार ७३६ मत पाए ।

पर्सा-१ बाट उम्मेदवारी दिएका लोसपा नेता लक्ष्मणलाल कर्ण चौथो स्थानमा आए । कर्णले एक हजार ११६ मत पाए । यो क्षेत्रमा राप्रपाका किरण डंगोलले दुई हजार ६५९, कांग्रेसका बागी अजय द्विवेदीले २० हजार ९१७ र जसपाका प्रदीप यादवले २२ हजार ५३७ मत पाए ।

जसपा नेता मोहम्मद इश्तियाक राई बाँके(२ मा राप्रपा नेता धवलशमशेर राणासँग पराजित भए । राईले २३ हजार ५२० र राणाले २९ हजार ५७७ मत पाए। यो क्षेत्रमा कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार ४०३ मत ल्याए ।

कैलाली-३ मा एमालेका गौरीशंकर चौधरी नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भए । गंगारामले २३ हजार १२० र गौरीशंकरले नौ हजार ८७४ मत पाए । यो क्षेत्रमा माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ४४९ मत पाए ।

पूर्वमन्त्री सुनील थापा धनकुटामा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापा पूर्वमन्त्रीसमेत हुन् । सिंहसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पराजित भएका छन् । पटक–पटक मन्त्री भएका थापा ०७४ मा मकवानपुर–२ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...