प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका गुरुङ निर्वाचित, संसद् छिर्नै नपाउने !

Tek bahadur gurung

मनाङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तर, भ्रष्टाचार मुद्दाका आरोपित उनी तत्कालै अदालतबाट सफाई नपाए संसद् छिर्नै पाउने छैनन् । कानुनले सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नलागेसम्म स्वतः निलम्बन हुने व्यवस्था गरेको छ ।

कानुन अनुसार अदालतबाट मुद्दाको किनारा नलागेसम्म प्रतिनिधिसभाको सदस्यको रुपमा निर्वाचित भएको प्रमाणपत्र बुझे पनि गुरुङ स्वतस् पदबाट निलम्बित हुनेछन् ।

उनीमाथि शक्तिमा हुँदा त्यसको दुरुपयोग गरी काठमाडौंको फनपार्कको जग्गा भाडामा लगाएको विषयमा भ्रष्टाचार गरेको आरोप छ । उनीविरुद्व ०७५ माघमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीसहित १६ जनाविरुद्ध मुद्दा चलिरहेको छ । सो मुद्दामा गुरुङलाई मात्रै ३१ करोड बिगो दाबी गरिएको छ । तर, भ्रष्टाचारको अभियोग लागेका उनी राजनीतिमै सक्रिय छन् । उनी ०७५ कै चैतमा साधारण तारेखमा छुटेका थिए ।

तर सो मुद्दामा अहिलेसम्म पनि फैसला भएको छैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा–१७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे( निर्विरोध भएका थिए ।

मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस