एकीकृत समाजवादीका १८ उम्मेदवारमध्ये को छन् ‘ग्रीन जोन’मा ? को छन् ‘रेड जोन’ मा ?

Madhab kumar nepal

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभामा १९ जना उम्मेदवार थिए । तीमध्ये रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सो पार्टीबाट प्रतिनिधिसभातर्फ १८ जना मात्रै चुनावी मैदानमा उत्रिएका हुन् ।

एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका १८ जना नै ‘ग्रीन जोन’मा रहेको स्थानीय तह निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतका वडामा वडाध्यक्ष पदका उम्मेदवारले हासिल गरेको मत परिणामले देखाउँछ । नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत्रमा सो पार्टी तेस्रो वा चौथो दलको रुपमा रहे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादीसहित गठबन्धनमा रहेका लोसपा र राजमोसहितको समर्थनमा उसका उम्मेदवार ‘ग्रीन जोन’मा देखिएका हुन् ।

एकीकृत समाजवादीबाट प्रदेश १ बाट प्रतिनिधिसभामा २ जना, मधेस प्रदेशबाट २ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट २ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट ३÷३ जना उम्मेदवार छन् ।

रौतहट–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी दिएका छन् । २०७४ सालको चुनावमा काठमाडौं–२ बाट निर्वाचित नेपालले अहिले रौतहटबाट उम्मेदवारी दिएका हुन् । पूर्व प्रधानमन्त्री नेपालसँगको प्रतिस्पर्धामा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ ।

​यस क्षेत्र अन्तर्गत माधवनारायण नगरपालिका, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, यमुनामाइ गाउँपालिका, गढीमाई नगरपालिका अन्तर्गत ६, ७, ८ वडा र गरुडा नगरपालिका अन्तर्गत १ वडा मात्रै पर्छ । ती स्थानीय तहका वडा अध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा उक्त क्षेत्रमा एमालेको तुलनामा सत्तारुढ गठबन्धन अगाडि देखिन्छ ।

रौतहट–१ अन्तर्गतका वडामा दलगत रुपमा वडाअध्यक्षका उम्मेदवारले पाएको मत अनुसार नेकपा एकीकृत समाजवादीको १९ हजार ६९८, कांग्रेसको १६ हजार ९२८, लोसपाको १२ हजार ६२, जसपाको ८ हजार २४१, माओवादीको ८ हजार १९१ र एमालेको ७ हजार ३८५ मत छ ।

इलाम–१ मा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार छन् । खनाल सो क्षेत्रबाट ५ पटक निर्वाचित भइसकेका छन् । उक्त क्षेत्रमा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्र अन्तर्गत सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका, रोङ्ग गाउँपालिका, माई नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ९, १० वडा र ईलाम नगरपालिकाको १० वडा पर्छ । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतको आधारमा सो क्षेत्रमा सत्तारुढ गठबन्धन कै पकड बलियो देखिन्छ ।

स्थानीय तह निर्वाचनका आधारमा सो क्षेत्रमा एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२, नेकपा एकीकृत समाजवादीको ९ हजार ४८१, जसपाको एक हजार ८२९, माओवादीको एक हजार २३५ र राप्रपाको एक हजार १६९ मत देखिन्छ ।

उदयपुर–२ मा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडा उम्मेदवार छन् । गठबन्धनका साझा उम्मेदवार खतिवडाका प्रतिद्वन्द्वीको रुपमा एमालेले अमरबहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा एमाले पहिलो दल छ । तर सत्तारुढ गठबन्धन घटकको सबै मत एकत्रित भएको अवस्थामा एमालेको तुलनामा गठबन्धन नै बलियो देखिन्छ ।

यस क्षेत्र अन्तर्गत रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका, सुनकोशी गाउँपालिका पर्छन् । ती स्थानीय तहको वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १८ हजार ५७३, कांग्रेसको ११ हजार ३४४, माओवादीको ८ हजार २०२, नेकपा एकीकृत समाजवादीको ३ हजार ४२७ र जसपाको एक हजार ४३४ मत छ ।

खतिवडा विरुद्ध कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएका कारण गठबन्धनको मत विभाजित हुन सक्ने आकलन गरिएको छ । तर, कांग्रेसले गठबन्धनको निर्णय अनुसार नै भूमिका निर्वाह गरेमा भने खतिवडा ‘ग्रीन जोन’ मै रहने देखिएका हुन् ।

यस्तै बारा–४ एकीकृत समाजवादीका कृष्णकुमार (किसान) श्रेष्ठले उम्मेदवारी दिएका छन् । तनहुँ–१ बाट चुनाव लड्दै आएका श्रेष्ठ पहिलो पटक बारा–४ बाट उम्मेदवार बनेका छन् । तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने भएपछि श्रेष्ठ बारा–४ मा उम्मेदवार बन्न बाध्य भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धीका एमालेका एकवाल मियाँ उम्मेदवार छन् ।

यस क्षेत्र अन्तर्गत विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, जीतपुर सिमरा उपमहानगर अन्तर्गत १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १९, २०, २१, २२, २३, २४ वडा, कलैया उपमहानगर अन्तर्गत १७ वडा, फेटा गाउँपालिका अन्तर्गत १, २, ३, ४ वडा पर्छन् । ती पालिका अन्तर्गत वडा अध्यक्ष पदका उम्मेदवारले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा एमालेको २१ हजार १६७ मत छ ।

तर गठबन्धन घटकका प्रमुख तीन दलमध्ये कांग्रेसको १६ हजार ५८९, माओवादी केन्द्रको ९ हजार १३ र नेकपा एकीकृत समाजवादीको ५ हजार १९ मत रहेकाले श्रेष्ठ सुरक्षित देखिएका हुन् । यहाँ लोसपाको १५ हजार ८०, जसपाको ५ हजार ६९१ र राप्रपाको एक हजार १५४ मत छ ।

काठमाडौं–८ मा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका शिवसुन्दर राज वैद्यले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत काठमाडांै महानगर अन्तर्गत १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिका अन्तर्गत ४ र ५ वडा पर्छन् । ती वडामा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको १० हजार ८७२, नेकपा एमालेको ९ हजार २५३, नेकपा एकीकृत समाजवादीको ५ हजार १४२, राप्रपाको ३ हजार १६० र माओवादीको १८९ मत छ ।

ललितपुर–२ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले उम्मेदवारी दिएका छन् । गठबन्धनका साझा उम्मेदवार महर्जनका मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर महर्जन मैदानमा छन् ।

यस क्षेत्र अन्तर्गत महालक्ष्मी नगरपालिका र ललितपुर महानगर अन्तर्गत ६, ७, ८, ९, ११, १२, १६, १७, १९ वडा पर्छन् । ती पालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा ललितपुर–२ मा कांग्रेसको २१ हजार ८१, एमालेको १७ हजार ७१२, माओवादीको ५ हजार २५४, राप्रपाको ३ हजार ५९३ र नेकपा एकीकृत समाजवादीको ३ हजार १९२ मत छ । यस आधारमा यहाँ गठबन्धनको बलमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नै सशक्त देखिएका छन् ।

धादिङ–१ मा एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन् । बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका हुन् । पाण्डेको प्रतिस्पर्धीको रुपमा एमालेका भूमिप्रसाद त्रिपाठी उम्मेदवार छन् ।

यस क्षेत्र अन्तर्गत धुनीवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ्ग गाउँपालिका, सिद्धलेक गाउँपालिका पर्छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतका आधारमा एमालेको ३७ हजार ७७८ मत छ भने माओवादीको २४ हजार ९२५, कांग्रेसको १९ हजार ४२३, नेकपा एकीकृत समाजवादीको ८ हजार ८३६ र राप्रपाको एक हजार २२२ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धनकै प्रभाव बढी देखिन्छ ।

मकवानपुर–२ मा एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा एमालेले महेश बर्तौलालाई उम्मेदवार बनाएको छ । मुख्यतः यिनै दुईबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यस क्षेत्र अन्तर्गत भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिका, हेटौडा उपमहानगर अन्तर्गत १, ३, ११, १९ वडा र मकवानपुरगढी गाउँपालिका अन्तर्गत ५, ६, ७, ८ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा एमालेको ३६ हजार ८६६, कांग्रेसको ३४ हजार २४०, माओवादीको २२ हजार ६०७, नेकपा एकीकृत समाजवादीको २ हजार ७१९ र राप्रपाको एक हजार ५३६ मत छ ।

कास्की–२ बाट एकीकृत समाजवादीका श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । बरालका प्रतिस्पर्धीको रुपमा एमालेका विद्या भट्टराई उम्मेदवार छिन् ।

यस क्षेत्र अन्तर्गत पोखरा महानगर अन्तर्गत ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ वडा पर्छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ एमालेको २१ हजार १६४, कांग्रेसको १९ हजार ८, राप्रपाको २ हजार ७९, नेकपा एकीकृत समाजवादीको २ हजार ५३, माओवादीको एक हजार १९८ र जसपाको १५३ मत छ । यस आधारमा यहाँ पनि सत्तारुढ गठबन्धन नै प्रभावशाली देखिन्छ ।

गुल्मी २ बाट एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवार छिन् । उनको प्रतिस्पर्धीको रुपमा एमालेका गोकर्ण विष्ट मैदानमा छन् ।

यस क्षेत्र अन्तर्गत मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसीकोट नगरपालिका, इस्मा गाउँपालिका, रेसुङ्गा नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ६ वडा पर्छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मतका आधारमा गठबन्धनकी उम्मेदवार झाँक्री झिनो मत अन्तरले अगाडि देखिन्छिन् ।

यहाँ एमालेको ३१ हजार २५३, कांग्रेसको २९ हजार ८२१, माओवादी केन्द्रको एक हजार ८४१ र नेकपा एकीकृत समाजवादीको ६५८ मत छ ।

पाल्पा–२ मा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे उम्मेदवार छन् । उनका प्रतिस्पर्धीका रुपमा एमालेका ठाकुर गैरे उम्मेदवार छन् । यस क्षेत्र अन्तर्गत बेगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तानसेन नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १४ वडा, तिनाउँ गाउँपालिकाको १, २, ३, ४, ६ वडा, माथागढी गाउँपालिका अन्तर्गत १ वडा पर्छन् ।
ती पालिका अन्तर्गत वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतअनुसार एमालेको ३० हजार ५६६, कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३१३, नेकपा एकीकृत समाजवादीको ४३३ र राप्रपाको ३३६ मत देखिन्छ । यस आधारमा यहाँ पनि गठबन्धन कै पक्षमा बढी मत देखिन्छ ।

दाङ–१ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले उम्मेदवार छन् । मेटमणि चौधरीका प्रतिस्पर्धीको रुपमा एमालेले शान्ता चौधरीलाई अघि सारेको छ । तर, एमालेकै निवर्तमान सांसद गंगा चौधरीले एमाले परित्याग गरी अर्कै दलबाट उम्मेदवारी दिएकाले यो क्षेत्रमा एमालेको मत केही हदसम्म विभाजित हुने देखिन्छ ।

यस क्षेत्र अन्तर्गत लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगर अन्तर्गत १, २, ३, ५ मात्रै वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मतका आधारमा यो क्षेत्रमा कांग्रेसको २९ हजार ७५७, एमालेको २७ हजार २५, माओवादीको १९ हजार २७६, राप्रपाको २३ हजार ५०, नेकपा एकीकृत समाजवादीको २ हजार ३४१ र जसपाको ८०७ मत देखिन्छ । यस आधारमा यो क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार ‘ग्रीन जोन’ मै देखिन्छन् ।

सल्यानबाट एकीकृत समाजवादीका प्रकाश बुढाथोकी ‘ज्वाला’ले गठबन्धनबाट उम्मेदवारी दिएका छन् । यसअघि प्रदेशसभा सदस्य रहेका ज्वाला यो चुनावमा भने संघीय सांसदका लागि मैदानमा छन् । ज्वालाको प्रतिस्पर्धीको रुपमा एमालेका राजेन्द्रवीर राय उम्मेदवार छन् ।

यस जिल्ला अन्तर्गत १० स्थानीय तह छन् । ती स्थानीय तहका वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ कांग्रेसको ३३ हजार ६१६, माओवादीको २६ हजार ७१३, एमालेको २६ हजार ६२८, नेकपा एकीकृत समाजवादीको ९ हजार ४६७ र राप्रपाको २ हजार ११७ मत छ ।

यस्तै डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा मगर उम्मेदवार छन् । उनका प्रतिस्पर्धीको रुपमा एमालेका गणेशबहादुर शाही उम्मेदवार छन् ।

डोल्पाका ८ स्थानीय तह अन्तर्गत वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ पनि सत्तारुढ गठबन्धन नै अग्रतामा देखिन्छ । यहाँ माओवादीको ४ हजार ८५५, एमालेको ४ हजार ५४५, कांग्रेसको ३ हजार ६९ र नेकपा एकीकृत समाजवादीको एक हजार ३३४ मत छ ।

यस्तै दैलेख–१ बाट एकीकृत समाजवादीका नेता अमरबहादुर थापाले उम्मेदवारी दिएका छन् । गठबन्धनका साझा उम्मेदवार थापा २०७४ सालको चुनावमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले संघीय सांसदका लागि चुनावी मैदानमा उत्रिएका उनको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका रवीन्द्रराज शर्मा उम्मेदवार छन् ।

यस क्षेत्र अन्तर्गत गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, नौमूले गाउँपालिका र महावी गाउँपालिका पर्छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मतका आधारमा कांग्रेसको २० हजार ३४४, एमालेको १९ हजार ६१, नेकपा एकीकृत समाजवादीको ५ हजार ५२९, माओवादीको ३ हजार १७५ र राप्रपाको ९७६ मत छ ।

यस्तै अछाम–१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट पटक पटक निर्वाचित एमाले नेता भीम रावलले टिकट नपाएपछि कुँवरलाई राहत मिलेको छ । एमालेबाट झपटबहादुर बोहरा उम्मेदवार छन् ।

यस क्षेत्र अन्तर्गत रामारोशन गाउँपालिका, बन्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका, साँफेबगर नगरपालिका, मल्लेख गाउँपालिका पर्छन् । ती पालिका अन्तर्गत वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ कांग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९० र नेकपा एकीकृत समाजवादीको २ हजार ७५२ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धन नै भारी हुने देखिन्छ ।

बझाङबाट एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । जोशीका प्रतिस्पर्धीका रुपमा एमालेका ऐनबहादुर महर उम्मेदवार छन् ।

बझाङ जिल्लामा १२ स्थानीय तह छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा एमालेको २८ हजार ६११, कांग्रेसको २० हजार १६६, माओवादीको ९ हजार १४५ र नेकपा एकीकृत समाजवादीको ७ हजार ६३२ मत छ । यहाँ गठबन्धनबाट उम्मेदवार बनेका जोशीका विरुद्ध गठबन्धनमै आवद्ध दल कांग्रेसका हर्कजंग बहादुर सिंहले बागी उम्मेदवारी दिएका छन् । सिंहले कांग्रेसको केही मत काट्ने आकलन गरिएको छ । यद्यपि यहाँ गठबन्धनको फराकिलो अग्रता देखिएकाले सिंहको उम्मेदवारीले पनि खासै असर नगर्ने गठबन्धनका नेताहरुको आकलन छ ।

यस्तै डोटीबाट एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले उम्मेदवारी दिएका छन् । आले २०७४ सालमा पनि निर्वाचित भएका थिए । आलेलाई टक्कर दिन एमालेले गौरीकुमारी ओलीलाई उम्मेदवार बनाएको छ ।

डोटी जिल्ला अन्तर्गत ९ पालिका छन् । ती पालिका अन्तर्गत वडा अध्यक्षको मतका आधारमा यहाँ कांग्रेसको ३४ हजार ४७ मत छ । यस्तै, एमालेको २४ हजार ९१६, माओवादीको ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीको ३ हजार २०५ र राप्रपाको ९८७ मत देखिन्छ । साभार : रातोपाटी

प्रतिकृया दिनुहोस