कांग्रेसको घोषणा पत्रले भन्छ, ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउँछौं

Congress ghoshana patra

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ पछि आफ्नै नेतृत्वमा ५ वर्ष सरकार चलाउने लक्ष्यसहित घोषणापत्र बनाइरहेको छ । घोषणापत्रको मस्यौदा केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भए लगत्तै समितिले निरन्तरतामा नवीनतासहितको घोषणाापत्र ल्याउन लागेको जानकारी गराएको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंसिर ४ को निर्वाचनका लागि तयार हुँदै गरेको घोषणापत्रका महत्वपूर्ण विषयबारे कार्यसम्पादन समितिमा जानकारी गराएलगत्तै केही सुझावसहित घोषणापत्रलाई कांग्रेसले अन्तिम रुप दिने भएको छ ।

घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा रहेको छ । त्यस्तै दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र 'समुन्नत नेपाल' कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गरेका छन् । समितिमा कवि श्रवण मुकारुङदेखि क्रिकेटर विनोद दाससम्म समेटिएका छन् ।

समितिमा चलचित्र निर्देशक मीन भाम, कृषि विज्ञ सन्जय महत्तो, समाजशास्त्री दिपेश घिमिरे, मधेशी महिलाको प्रतिनिधित्व गर्दै प्रिति मण्डल, कर्णालीको प्रतिनिधित्व गर्दै रंगमति शाही, फस्ट टाइम भोटरको प्रतिनिधित्व गर्दै विकल राई, सामाजिक रुपान्तरणको मुद्धाको प्रतिनिधित्व गर्दै अनुसन्धानकर्ता प्रकाश लामिछाने समेत सदस्य छन् ।

बैठकमा नेताहरूले दिएको सुझावलाई समेटेर छिट्टै घोषणापत्र जारी गर्ने समितिको तयारी छ । कांग्रेसको घोषणापत्र ३ खण्डमा विभाजित हुनेछ । कांग्रेसले हालसम्मका परिवर्तनको आन्दोलनमा गरेको योगदानको जस लिने र संविधानको रक्षा गर्ने संकल्प घोषणापत्रमा गर्नेछ । ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउने विषय पनि कांग्रेसले घोषणापत्रमा समेट्नेछ ।

कांग्रेस घोषणापत्रको पहिलो खण्डमा समसामयिक राजनीति, दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताबारे चर्चा गर्दै त्यसका लागि आवश्यक आर्थिक प्रक्षेपण समेटिने छ । मंसिर ४ पछि बन्ने सरकार गठबन्धनकै हुने दाबी गर्दै कांग्रेसले घोषणापत्रमार्फत अघि सारेको योजना कार्यान्वयनमा समस्या नहुने उसको दाबी छ ।

कांग्रेसले घोषणा पत्रमा परराष्ट्र मामलाको विषयमा पनि चर्चा गर्दैछ । कांग्रेसले सरकार चलाउँदा सँधै सन्तुलित सम्बन्ध राखेको दाबा गर्दै परराष्ट्र मामलाको विषय राष्ट्रिय सहमतिको विषय बनाउनुपर्ने धारणा घोषणापत्रमार्फत अघि सार्दैछ ।

कांग्रेसले घोषणापत्रमा केपी ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक कामको भण्डाफोर गर्ने र कांग्रेसले गरेका राम कामलाई प्राथमिकतामा राखेर बाहिर ल्याउँदैछ । त्यस्तै सामाजिक सुरक्षा, सुशासन, जलवायु परिवर्तन, समन्यायिक समाज लगायतका विषयमा पनि कांग्रेले घोषणामार्फत आफ्नो धारणा बाहिर ल्याउँदैछ । आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलता कांग्रेसको प्राथमिकतामा पर्नेछ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणा पत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणा पत्रको मस्यौदा प्रस्तुत गरेका थिए । बैठकमा प्रारम्भिक मस्यौदा उपसमितिका तर्फबाट वाग्लेले मस्यौदाको थप व्याख्या गरेका थिए भने बैठकमा प्रारम्भिक मस्यौदा समितिका सदस्यहरुको पनि आमन्त्रित रुपमा सहभागिता थियो ।

बैठकले प्रारम्भिक मस्यौदालाई प्राप्त सुझावहरु समावेश गर्ने गरि पारित गरेको छ । उपत्यका बाहिर रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले शनिबार साँझ ७ बजेभित्र पठाउने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, उमा रेग्मी र जीपछिरिङ लामाले आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस