निर्वाचनको कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

Nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ ।

यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा परेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ । दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्नेछ ।

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।

२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् भने अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन हुनेछ र चुनाव चिह्न पनि पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था विद्यमान निर्वाचन कानुनमा रहेको छ ।

प्रतिकृया दिनुहोस