सत्ता गठबन्धनको कार्यदलमा ८८ सिटमा मिल्यो कुरा, बाँकी शीर्ष नेतालाई जिम्मा

Satta gathbandhan seat badfad karyada

काठमाडौं । सत्तारुढ पाँचदलीय कार्यदल प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन् । कार्यदलका सदस्यहरुका अनुसार भोलि विहान ९ बजे बसेर प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने तयारी छ ।

सिट बाँडफाँटमा समझदारी बनाउन गठबन्धनले साउन २२ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल बनाएको थियो । त्यसयता शीर्ष नेतासहित कार्यदलको बैठक निरन्तर चलिरहेको छ ।

काठमाडौंको १० वटा क्षेत्रमध्ये २ मा टुंगिएको छैन । कांग्रेसले १,३, ४, ६, ९ र १० पाउने पक्का भएको छ । एकीकृत समाजवादीले ८ लिने छ भने ७ जसपाको हुनेछ । क्षेत्र नम्बर २ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । क्षेत्र नम्बर ५ मा भने कुनै पनि दलको खास रुची देखिएको छैन ।

मधेसको ३२ सिटमध्ये १६ मा कांग्रेसको दाबी छ । कांग्रेस र जसपाको दाबी भएका केही क्षेत्रमा सहमति जुटेको छैन । दाङमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकएक सिट लिने लगभग सहमति जुटेको छ । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको क्षेत्र नम्बर २ माओवादीको पक्का छ । बाँकी दुबै सिटमा कांग्रेस र एकीकृत समाजवादीको दाबी थियो । बुधबार १–१ सिट लिने सहमति भएको छ ।

मधेसमा कांग्रेस र जसपाबीच मुख्य रस्साकसी छ जहाँ प्रतिनिधिसभाका ३२ सिट छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको प्राप्त मतका आधारमा मधेसका १८ क्षेत्रमा कांग्रेस एक्लै अघि छ । त्यसैका आधारमा उसले २० भन्दा बढी निर्वाचन क्षेत्रमा दाबी गरेको छ । वडाध्यक्षको मतका आधारमा मधेसमा एमाले ६, जसपा ५, माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक/एक सिटमा मात्र अघि छन् । तर जसपाले मधेस प्रदेशलाई आफ्नो पार्टीको मुख्य आधार क्षेत्र मानेर दाबी प्रस्तुत गरिरहेको छ ।

मोरङ–५, सुनसरी–१, काठमाडौं–७ लगायत गरी मुलुकभरका ३२ निर्वाचन क्षेत्रमा जसपाको दाबी छ । ‘तोप माग्दा लाठी मात्र दिने अवस्था भएकाले सबैले आ–आफ्ना दाबी बढाएका हुन्,’ जसपा नेता मनीष सुमनले भने, ‘समझदारीमा आउँदा जसपा २६/२७ सम्म आउन सक्छ ।’ मधेस प्रदेशमा जसपाको मुख्य आधार र प्रभाव भएकाले गठबन्धनका अन्य दलले भाँजो हाल्न नहुने उनको भनाइ छ ।

एकीकृत समाजवादीका पनि अध्यक्ष माधवकुमार नेपालले चुनाव लड्ने रौतहट–१, झलनाथ खनालको इलाम–१ र सचिव रामकुमारी झाँक्रीको गुल्मी–२ सहित ८ सिटमा अरूको दाबी छैन  । जनता समाजवादी पार्टीका पनि ८ निर्वाचन क्षेत्रमा एकल दाबी छ  ।

‘अहिलेसम्म ८८ निर्वाचन क्षेत्रको भागबन्डा मिलिसकेको छ ’ कार्यदलका अर्का एक सदस्यले भने, ‘त्यहाँ पनि नमिलेका विषय शीर्ष तहका नेताहरूको जिम्मामा जान्छन्, नेताहरूले ४० देखि ५० निर्वाचन क्षेत्रको समस्या हल गर्नुपर्ने देखिन्छ  ।’

उता, माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ५० प्रतिशत अर्थात् ८२ सिट र गठबन्धनका अन्य दलले ८३ सिट पाउनुपर्ने अडान राखिरहेका छन् । कार्यदलका संयोजक सिटौलाले यसअघि नै कांग्रेसले ८८ सिटको दाबी अघि सारेका थिए । त्यसैलाई आधार मानेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ८६ जोड २ को प्रस्ताव गरेका थिए  । कांग्रेसले ८६ लिने र दुई सिट लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका लागि छुट्याउने उनको प्रस्ताव थियो  ।

तनहुँ–१ मा कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारीको तयारी गरेपछि एसका सांसद किसानकुमार श्रेष्ठलाई बारा–४ मा उठाउने तयारी गरिएको छ । डोटीमा एसका प्रेम आले र कांग्रेसका वीरबहादुर बलायरबीच गठबन्धनको टिकटमा प्रतिस्पर्धा छ  । बलायरलाई कैलालीमा झार्ने देउवाको तयारी छ  । मोरङ–४ मा पनि कांग्रेसका केन्द्रीयस्तरका नेताहरू बढी भएकाले कांग्रेसले दाबी गरेको छ  ।

०७४ मा उक्त निर्वाचन क्षेत्रबाट माओवादीका अमनलाल मोदीले कांग्रेस नेता महेश आचार्यलाई हराएका थि ए । अहिले उक्त क्षेत्रबाट टिकट लिन कांग्रेसभित्र नै महेश आचार्य, गुरु घिमिरे र अमृत अर्यालबीच तीव्र प्रतिस्पर्धा छ । यस्तै जटिल अवस्था सिन्धुपाल्चोक–१ मा पनि छ  । त्यहाँ सभामुख अग्नि सापकोटाले नै प्रत्यक्ष चुनाव लड्न खोजेमा कांग्रेसका मोहन बस्नेतलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ  ।

प्रतिकृया दिनुहोस