श्रीलंका आर्थीक संकट: विदेशी मुद्रा सञ्चिति ५ करोड अमेरिकी डलरभन्दा कम

Srilanka1651589291

श्रीलंका । श्रीलंकामा प्रतिकूल आर्थिक संकटका कारण हाल विदेशी मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम भएको छ। बुधबार श्रीलंकाका अर्थमन्त्री अलि सावरीले संसदमा सम्बोधन गर्दै यसबारे चिन्ता प्रकट गरेका हुन्। यो आर्थिक संकट नरोकिएको खण्डमा देशलाई गम्भीर खतरा निम्तिन सक्ने उनले उल्लेख गरेका छन्। अर्थमन्त्रीका सावरीका अनुसार देशमा करको दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताएका छन्। चाँडै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेटेर श्रीलंकाको मुद्रालाई थप अवमूल्यन हुनबाट जोगाउने उपाय खोज्नुपर्ने पनि उनले बताएका छन्।

अर्थमन्त्री सावरीले भविष्यमा आयकर दर बढाउनुपर्ने भन्दै आफ्नो राय संसदमा राखेका थिए। उनले रोजगार व्यक्तिहरूलाई आफ्नो कमाइको केही अंश राज्यका लागि योगदान गर्न पनि आग्रह गरेका छन्। उक्त अवसरमा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको वार्ताको प्रगति प्रतिवेदन संसदका सबै सदस्यहरूलाई वितरण गरिएको भन्दै सबैले आफ्नो स्थानबाट राज्यको संकट टार्न योगदान गर्नुपर्ने अवस्था रहेको बताए।

श्रीलंकाले कम्तीमा पनि दस घन्टा दैनिक विद्युत् कटौती गरिरहेको छ। यहाँको मुद्रा मार्च ८ पछि अमेरिकी डलरविरूद्ध करिब श्रीलंकाली ९० रूपैयाँले अवमूल्यन भएको छ। श्रीलंका सरकारले मे महिनादेखि विद्यमान आर्थिक संकटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता पनि उपलब्ध गराउने भएको छ। उसले यस्तो भत्ता तीन महिनाका लागि उपलब्ध गराउने भएको हो।

श्रीलंकाका सञ्चारमन्त्री नालाका गोदाहेवाले मंगलबार एक पत्रकार सम्मेलनमार्फत् यसको जानकारी दिएका हुन्। विश्व बैंक समूहअन्तर्गत संकटमा आकस्मिक प्रतिक्रिया प्रणाली (सिइआरसी) कोषको ढाँचा अन्तर्गत मेदेखि जुलाइसम्म विशेष भत्ता प्रदान गर्न सोमबारको मन्त्रिमण्डलले अनुमोदन गरेको उनले जानकारी दिए। श्रीलंकाले अहिले व्यापक आर्थिक मन्दीको सामना गरिरहेको छ। योसँगै खाद्यान्न, आधारभूत समान तथा औषधिलगायत इन्धनमा व्यापक मूल्य वृद्धि भएको छ।

सन् २०१९ मा श्रीलंकामा इस्टर सन्डेका दिन कोलोम्बोका चर्च र पाँचतारे होटलमा आतंकवादी हमला भएको थियो। हमलापछि पर्यटन आवागमन घट्न थाल्यो। यसपछि कोरोना फैलियो। अनि पर्यटक आउने क्रम रोकिएजस्तै भयो। पर्यटक नआएपछि विदेशी मुद्रा आर्जन कम भएर ऋण तिर्न गाह्रो हुन थालेपछि सन् २०१७ मा सरकारले हम्बोनाटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको थियो। अब आइएमएफले प्रक्रिया पूरा गरेर श्रीलंकालाई उकास्न सहयोग गर्ने तयारी छ। तर आइएमएफको पैसा आउन्जेलसम्म आर्थिक संकटले दैनिक जनजीवन चलाउन आम श्रीलंकनलाई झन् कठिन हुने देखिन्छ।

 

प्रतिकृया दिनुहोस