१० औं दिनमा रुसले गर्‍यो २ शहरमा युद्ध विराम, खुल्यो मानवीय करिडोर

Rus yudhbiram

काठमाडौं । युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।

दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयले मानवीय सहयोगका लागि युद्धविराम गरेको जनाएको छ । युद्धविरामको समयमा मानिसहरु शहर छोडेर जान सक्ने उसले जनाएको छ ।

बन्दरगाह नजिकैको शहर मरियुपुलमा रसियाले धेरै दिनदेखि आक्रमण जारी राखेको थियो । त्यस्तै भोल्नोभाखामा पनि युद्ध चर्किएको थियो । दुई शहरमा युद्धबिराम भएको युक्रेन पक्षले पनि पुष्टि गरेको छ ।

तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, 'आज मार्च ५का दिन मस्कोको समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको छ । साथै मरिपोल र भोल्नोभाखाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।'

दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो । रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।

प्रतिकृया दिनुहोस