कोरोनाको तेस्रो लहरको हटस्पट बन्यो काठमाडौं उपत्यका, १४९८ जनामा कोरोना पुष्टि

Kathmandu valley

काठमाडौं । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । दिनदिनै काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण बढेको बढ्यै छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज फेरि त्यो संख्या दोब्बर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२८ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा २३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

हिजो मात्रै काठमाडौं उपत्यकामा थप १ हजार २ सय ८६ जना कोरोना संक्रमित थपिएका थिए । जसअनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

देशभर भने २४ घण्टामा थप तीन हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यामा मंगलबार देखिएको नयाँ संक्रमितभन्दा ६३१ ले बढी हो । नयाँ संक्रमितमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमुना परीक्षण गरिएको थियो । नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये संक्रमणदर २७ प्रतिशत छ । यही अवधिमा २७८ जना कोरोनाबाट निको भएका छन् ।

कोभिडविरुद्धको खोप लगाउनेको संख्यामा पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको संख्यामा ११ हजार ६९० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल भेन्टिलेटरमा रहनेको संख्यामा जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् ।

होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन् । सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बताइन् । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा वाग्मती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस