पाटन दरबार संग्रहालयमा बढ्यो पर्यटकको आवागमन

Patana

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार संग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ। ललितपुर महानगरपालिका–१६ स्थित उक्त संग्रहालय कोरोना महामारीसँगै बन्द गरिएको थियो।

कोरोनाको जोखिम कमभएसँगै गत भदौ २३ गतेदेखि सर्वसाधारणका लागि संग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारी दिए। उनले भने, ‘दोस्रो लकडाउन सकिएर संग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा दिनानुदिन बढ्दै गइरहेको छ।’

आइतबारसम्म कुल ८०२ अन्य मुलुक व्यक्तिले संग्रहालय अवलोकन गरिसकेका उनले जानकारी दिए। भारत, चीन, इजरायल, अष्ट्रेलिया र स्पेनका पर्यटक दरबार क्षेत्र घुम्न आउने क्रम बढिरहेको एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिका प्रमुख सविना महर्जनले बताए। उनले भने, “संग्रहालय भ्रमण गर्ने स्वदेशी आगन्तुकको संख्या पनि हरेक दिन बढी नै रहेको छ।”

खुलाइएको लगभग दुई महिनामा कुल पाँच हजार नौले संग्रहालय घुमेका उनले जानकारी गराए। बिहान १० देखि साँझ साढे चारसम्म संग्रहालय खुला हुने गर्छ। दरबार क्षेत्रमा मानिसको चहलपहल बढेसँगै आफूहरु पनि दिनभरि घाम तापेर परिसरमा बस्ने गरेको सुन्धाराका आशाराम महर्जनले बताए।

तिहार नजिकिएसँगै दरबार क्षेत्रमा भीड बढेको छ। संग्रहालय रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषित गरिसकेको छ। उक्त क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको सहरका नामलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ। पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा दरबार क्षेत्रलाई लिइन्छ। यहाँ शिखरशैलीमा ढुंगाबाट निर्मित नेपालको एक मात्र २१ गजुर भएको कृष्ण मन्दिरका साथै भीमसेन अनि नरसिंह तथा जगत्नारायण आदिको मन्दिर छन्।

संग्रहालय रहेको पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ। पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छन्। पाटन दरबारमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई चीनको खासा अनि ल्हासा र भुटानको थिम्पुसम्म व्यापार हुने गर्छन्।

संग्रहालयभित्र सातौं शताब्दीको उमामहेश्वर मूर्तिको फलकका साथै १४ शताब्दीको विष्णुकमलाज अर्थात् लक्ष्मीनारायणको मूर्तिसमेत अवलोकन गर्न पाइन्छ। यसैगरी संग्रहालयमा छैटौंदेखि २०औँ शताब्दीसम्मका प्रस्तर कलाका मूर्ति रहेका छन्। पाटन संग्रहालयभित्र सन् १६६६ को राजा श्री निवास मल्लको सिंहासन हेर्न सकिन्छ।

दरबार संग्रहालय सेरोफेरोमा लिच्छविकालदेखिका अभिलेख अनि मूर्तिकला तथा स्थापत्य अर्थात् ढुङ्गेधारा र चैत्यका प्रमाणहरु पाइन्छन्। विसं २०१९ मा ललितपुर दरबारलाई जीवन्त राख्न तथा सर्वसाधारणका लागि खुला गर्ने उद्देश्यअनुरुप संग्रहालयमा परिणत गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पूर्वप्रमुख सन्दीप खनालले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...