पोखरामा आन्तरिक पर्यटकको चहलपहल, फर्कियो व्यवसायीमा खुसी   

Pokhara

काठमाडौँ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो। अहिले पोखराको मौसम पनि निकै खुलेको छ।

माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन्। विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा कोरोना संक्रमण कम भएसँगै आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पर्यटन व्यवसायी सोम थापा बताउँछन्।

आन्तरिक पर्यटकको उपस्थिति बाक्लिन थाले पनि आर्थिक गतिविधिलाई अझै चलायमान बनाउनका लागि विदेशी पर्यटकको गतिविधि पनि बढ्नुपर्ने व्यवसायी थापाको भनाइ छ।

पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो देखिएको छ। पोखरा आउने अधिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मर्दी पदयात्रा, अन्नपूर्ण बेसक्याम्प, अस्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पदमार्गका लागि निस्किने गरेका छन्।

मोटरेबल बाटोले प्रसिद्ध पदमार्गहरु विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गए पनि ती क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। पोखराको सुन्दर दृश्य हेर्नका लागि आफूहरु टाढा–टाढादेखि पोखरामा आएको पर्यटकहरु बताउँछन्।

पोखरामा ५ अर्ब रुपैयाँ बढीको पर्यटन क्षेत्रमा लगानी रहेको छ। करिब सात सय होटेल सञ्चालनमा छन्। कोरोनाका कारण सबै होटल भने खुलिसकेका छैनन्। आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको भए पनि अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गर्छन्। पोखरामा आन्तरिक पर्यटक आउँदा यसले पर्यटन क्षेत्रलाई राहत दिएको उनको भनाइ छ।

हालै पोखरामा भएको ११ देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको उनले बताए। पर्यटन बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बढीभन्दा बढी आन्तरिक पर्यटकहरुलाई भित्र्याउने खालका कार्यक्रमहरु गरेको उनको भण्डारीको छ।

पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर, प्याराग्लाइडिङलगायतका साहसिक खेलमा भीडभाड बढेको छ।

प्रतिकृया दिनुहोस