पोखराको प्याराग्लाइडिङमा आकर्षण

Paraglidin  pokhara

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको संख्या पनि बढेको छ। दसैँतिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।

उनले कोरोनापछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको संख्या पनि बढेको बताए। ‘अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको संख्या राम्रो छ’, उनले भने, ‘यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ।’ गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उनको भनाइ छ।

‘गत वर्ष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौँ तर त्यो रकमले उडानको अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भयो’, उनले भने, ‘त्यसैले अहिले छुटमा उडान गर्न सकेनौँ।’

उनले लामो समय उडान नहुँदा इक्विपमेन्ट मर्मत गर्नुपर्ने र ग्लाइडर पनि नयाँ खरिद गर्नुपर्ने भएकाले अहिले छुटमा उडान गर्न कम्पनी तयार नभएको बताए।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीका अनुसार दसैँको समयमा दैनिक करिब ४०० सम्म उडान भएको र अहिले दैनिक एक डेढ सय उडान भइरहेको जानकारी दिए। ‘साहसिक खेलमा रुचि हुने आन्तरिक पर्यटकका कारण व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको छ’, उनले भने, ‘गत वर्ष असोजमा पनि बन्दाबन्दी खुकुलोपछि प्याराग्लाइडिङ गर्ने संख्या निकै राम्रो थियो। कोरोनाको दोस्रो लहरले फेरि रोकियो। अहिले भने केही आशा जगाएको छ।’

पहारीले विशेष गरी १५ देखि ४० वर्षसम्म उमेर समूहकाले उडानमा बढी रुचि देखाउने गरेको बताए। उनीसँग ७५ वर्षसम्मकालाई उडाएको अनुभवसमेत छ। पहारीका अनुसार उडान गर्ने कलेजका विद्यार्थी र कर्पोरेट क्षेत्रका बढी रहेका छन्। सरकारी कर्मचारी भने अलि कम छन्। उडानको मज्जा लिने कास्की जिल्लाका २० प्रतिशत र अन्य जिल्लाका ८० प्रतिशत छन्।

दसैँतिहारको समयलाई सदुपयोग गर्दै यहाँ घुम्न आएका हेटौँडाका सिजन र रमिता कोइरालाले पनि प्याराग्लाइडिङबाट पोखरा र आसपासका सुन्दर दृश्य अवलोकन गर्दा निकै आनन्द लागेको बताए। ‘पर्यटकीय सहर पोखराको सुन्दरतालाई चराजस्तै उडेर सुन्दर हिमशृङ्खला, फेवातालसँगै डाँडाकाँडाको हरियाली दृश्य निकै मनमोहक लाग्यो’, सिजनले भने, ‘उडान पनि निकै रोमाञ्चक लाग्यो।’

यहाँ हवाई खेलकुद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन्। यसमा १२ महिला छन्। यहाँ ६० प्याराग्लाइडिङ कम्पनी छन्। यस क्षेत्रमा करिब रु एक अर्बको लगानीे छ। अहिले ६ हजार शुल्कमा उडानको मजा लिन सकिन्छ। हिमालय स्काई एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले ‘सेफ्टी र सेक्युरिटी’ लाई ध्यान दिएर उडान भइरहेको जानकारी दिए।

विगतमा प्यारापाइलटबाट भएका कमिकमजोरी र लापरबाहीका कारण केही दुर्घटना भएको सार्वजनिक भएसँगै अहिले उडानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उनले बताए। ‘विगतमा एकाध घटनाले पोखराको आकाश असुरक्षित छ कि भन्ने आशंका जन्माएको थियो’, उनले भने, ‘तसर्थ पनि अहिले उडान सुरक्षालाई कडाइ गरेर पूर्ण सुरक्षाका साथ उडान गरिएको छ।’

प्यारापाइलट र यात्रु दुवैले उडानका नियमलाई पूर्ण रुपमा पालना गर्नुपर्ने सञ्चालक तिवारीको भनाइ छ।

प्रतिकृया दिनुहोस