भारतमा कोइला संकट : दिल्ली अन्धकारमय बन्दै, मोदीलाई केजरीवालको पत्र

Modi kej

काठमाडौं । कोइला संकटले ऊर्जा अभाव निम्त्याएपछि भारतको राजधानीदिल्ली अन्धकारमय बन्दैछ । केन्द्रीय राजधानीमा विद्युत संकट टार्न दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोइला आपूर्तिले निम्त्याएको संकटलाई ध्यान दिन आग्रह गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘म तपाईंको ध्यान कोइलाको मौजुदा आपूर्तितिर खिच्न चाहन्छु । यतिखेर दिल्लीले कोइला अभाव खेपिरहेको छ । दुई महिनादेखि आपूर्तिमा कमी भइरहेको छ । दिल्लीमा विद्युत आपूर्ति हुने प्लान्ट प्रभावित भएका छन् ।’

मुख्यमन्त्री केजरीवालले विद्युत उत्पादन गर्ने पावर प्लान्टहरूमा कोइला आपूर्ति सुनिश्चित गर्नका लागि बजारमा केन्द्रीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । कोइला अभावकै कारण अब चाँडै नै दिल्लीले बिजुली संकट भोग्नुपर्ने स्थिति निम्तिँदै गरेको पनि उनले उल्लेख गरेका छन् ।

दुई दिनभित्र बिजुली काटिनसक्ने
भारतमा खपत हुने झण्डै ७० प्रतिशत ऊर्जा कोइला जलाएर उत्पादन गरिन्छ । कोइला अभावका कारण विद्युत उत्पादन गर्ने पावर प्लान्टहरू बन्द हुने र आंशिक क्षमतामा मात्रै सञ्चालन गर्ने स्थितिमा छन् । राजधानी दिल्लीमा कोइला जलाएर निकालिने बिजुलीबाटै ऊर्जा आपूर्ति भइरहेको छ ।

केजरीवालले लेखेका छन्, ‘दिल्लीले बिजुली संकट भोग्नुपर्ने हुनसक्छ, यो स्थिति निम्तिन नदिन मैले प्रयास गरिरहेको छु । संकट निम्तिन नदिन हामी हरसम्भव प्रयास गर्नेछौँ । यसबीच मैले प्रधानमन्त्रीलाई पत्र लेखेर व्यक्तिगत हिसाबले नै हस्तक्षेप गर्न अपील गरेको छु ।’

दिल्लीका ऊर्जामन्त्री सत्येन्द्र जैनले पनि हाल कायम कोइला अभाव नहटे दुई दिनभित्र दिल्लीमा बिजुली कटौती हुने जानकारी दिइसकेका छन् । बिजुली संकटलाई उनले कोरोना महामारीको दोस्रो लहर फैलिँदा भएको अक्सिजन अभावसँग तुलना गरेका छन् । महामारी चरमस्तरमा फैलिरहँदा भारतमा अक्सिजन अभाव भएको थियो । अक्सिजन अभावकै कारण त्यहाँ हजारौँ संक्रमितले ज्यान गुमाएका थिए ।

अहिलेको संकट मानवनिर्मित भएको पनि मन्त्री जैनले दाबी गरेका छन् । कोइला र ग्यास दुबै आपूर्ति नगरिँदा पावर प्लान्टहरू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

केन्द्र सरकारले हिजो (शनिबार) बवाना पावर प्लान्टमा ग्यास सप्लाइ बन्द गरिदिएको थियो । राज्य सरकारले हस्तक्षेप गरेपनि प्लान पुनः चलाइएको थियो । दिल्लीमा चुनाव हारेको भाजपा नेतृत्वको आम आदमी पार्टीको सरकारलाई अप्ठेरो बनाउन हदैसम्म गर्दै आएको छ ।

पछिल्लोपटक ऊर्जा संकटलाई दिल्ली सरकारमाथि दबाब बढाउने हतियार बनाइरहेको छ । दिल्लीलाई आवश्यक विद्युतको ठूलो हिस्सा दादरीस्थित एनटीपीसी प्लान्ट र झज्जरस्थित थर्मल पावर प्लान्टबाट आपूर्ति हुने गरेको छ । दिल्लीमा भने विद्युतीय ऊर्जा उत्पादन गर्ने प्लान्ट राखिएको छैन । दिल्लीमा जडान गरिएका तीनवटा थर्मल प्लान्ट यसअघि नै बन्द भइसकेको छ ।

यसैबीच केन्द्र सरकारले थर्मल पावर प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । कोइला जलाएर विद्युत उत्पादन गर्ने प्लान्ट भारतभर १३५ वटा छन् । यी अधिकांश प्लान्टहरू जारी कोइला संकटका कारण पूर्ण क्षमतामा चलाउन सकिएको छैन ।

कसरी निम्तियो कोइला संकट ?
भारतबासीले कयौं महिनादेखि कोइला संकट भोगिरहेका छन् । कोरोना महामारीको दोस्रो लहर नियन्त्रण भएपछि त्यहाँको बजार चलायमान भयो । उद्योगधन्दाहरू खुल्न थाले र कोइला तथा कोइलाबाटै उत्पादन हुने गरेको बिजुलीको माग ह्वात्तै बढ्यो ।

अघिल्ला दुई महिनाभित्रै सन् २०१९ को तुलनामा भारतमा कोइलाको माग १७ प्रतिशत बढ्यो । विश्वमै कोइलाको मूल्य ४० प्रतिशतसम्म महंगिएको छ । यसैकारण भारतमा दुई वर्षमै कम कोइला आयात भयो । धेरै कोइलाखानी भएको मुलुकको सूचीमा भारत चौथो स्थानमा छ । तर, कोइला आयात गर्ने मुलुकको सूचीमा पनि भारत दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस