धार्मिक तथा पर्यटकीय क्षेत्र बन्दः होटल व्यवसायी मर्कामा

Hotel

काठमाडौँ । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिका मन्दिर गत चैत महिनादेखि बन्द छ ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सो मन्दिर चैत महिनादेखि बन्द भएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना भाइरस सङ्क्रमण बढ्दै जाँदा मठ मन्दिरमा नित्य कर्मबाहेकका गतिविधिमा रोक लगाएपछि विगत छ महिनादेखि कालिका मन्दिरको गेट खुल्ला हुन सकेको छैन ।

बागलुङको पर्यटन व्यवसायलाई चलायमान गराउने बागलुङ कालिकासँगै बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट पनि बन्द छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्नुअघि यहाँ दैनिक ५०० को हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका थिए ।

तर लामो समयसम्म पञ्चकोट बन्द हुँदा अहिले सो क्षेत्र सुनसान देखिएको छ । बागलुङमा पछिल्लो तीन वर्ष यता पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माण भए पनि कोरोना भाइरस सङ्क्रमणका कारण पर्यटन व्यवसाय सङ्कटमा पर्न थालेको छ । 

जिल्लाको गलकोट नगरपालिका–६ स्थित खुल्ला मूर्तिकला सङ्ग्रहालय पछिल्लो समय पर्यटकको आर्कषण केन्द्र बन्दै गइरहेको बेला बन्द हुँदा पुनः ठप्प बन्न पुग्छ । बागलुङका यस्ता दर्जनौ पर्यटकीयस्थल अहिले सुनसान छन् । कोरोना भाइरस सङ्क्रमणको जोखि कम हुँदै गएपछि अन्य क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । तर बागलुङका पर्यटकीय गतिविधि ठप्प हुँदा यहाँका पर्यटन व्यवसायी समेत समस्यामा परेका छन् ।

जनतन खोल्न थालेका होटल व्यवसाय राम्रोसँग एक महिनासमेत खोल्न नपाउँदै पुनः बन्द भएका थिए । कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा गत साउन २८ यता बन्द गरियो । फलस्वरुप चलायमान हुन थालेको धार्मिक तथा पर्यटकीय गन्तव्य एकाएक ठप्प भए । यही भदौ १० गतेदेखि बल्ल बागलुङमा केही सीमित प्रावधान बाहेकका गतिविधि खुल्ला गरे पनि धार्मिक तथा पर्यटकीय क्षेत्रमा भने निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रमा भीडभाड हुने भएकाले कोरोना जोखिम हेरेर निषेधाज्ञा कायम गरिएको बताए । उनले नित्यकर्मबाहेकका गतविधि धार्मिक क्षेत्रमा गर्न नपाइने जानकारी दिए ।  पर्यटकीय क्षेत्रमा चहलपहल नहुँदासम्म जिल्लाका होटल व्यवसाय खोल्नुको कुनै अर्थ नभएको होटल व्यवसायी ललिता थापाले जानकारी दिए ।

“काठमाडौं, पोखरा चितवनलगायतका स्थानबाट कालिका मन्दिर, पञ्चकोट, गलकोटको मुर्तिकला हेर्न नआएको धेरै भयो, जिल्लामा सार्वजनिक सभा समारोहसमेत सञ्चालनमा रोक छ, होटल मात्रै खोलेर के गर्नु ?”, उनले भने, “विश्वकै प्रसिद्ध पर्यटकीय गन्तव्य ढोरपाटन, मुस्ताङको मुक्तिनाथ जाने पर्यटकले सिजनमा राम्रो कमाइ गर्ने जिल्लाका होटल व्यवसाय पर्यटकको पर्खाइमा छन् ।”

साउने सोमबारमा शिवालयमा भक्तजनको भीड लागेकै छ । कृष्ण जन्माष्टमीमा त्यस्तै भीड थियो तर कालिका मन्दिरसहित अन्य धार्मिक पर्यटकीयस्थलमा स्थानीय प्रशासनले पूजाआजा प्रवेशमा रोक लगाउँदा जिल्लाको पर्यटन व्यवसाय थला परेको जिल्ला पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

“अन्य भीडभाड हुने क्षेत्र खोलेकै छ तर स्वास्थ्य मापदण्डअनुसार पर्यटकीयस्थल खोल्न कसैले चासो दिएका छैनन्, होटल मात्रै खुलेर के हुन्छ र ? अन्य जिल्लामा जस्तै यहाँ पनि  विस्तारै पर्यटकीय क्षेत्र चलायमान गराउन आवश्यक छ”, अध्यक्ष खड्काले भने, “पर्यटनको थुप्रै सम्भावना बोकेर जागरुक हुँदै आएको बागलुङमा कोरोनाले निकै समस्या पार्यो, अहिले कोरोना घटे पनि पर्यटकीय क्षेत्रमा लागेको निषेधाज्ञा हटाउन पर्दछ, स्वास्थ्य सचेतना जरुरत छ ।”

पछिल्लो समय बेलढुङ्गा हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरना पर्यटककको आर्कषण बन्न थालेको भए पनि कोरोनाको कारण समस्यामा परेका छन् । पछिल्लो समयमा बागलुङमा पर्यटकीय गतिविधि धेरै हुँदै आएका कारण पर्यटन क्षेत्र चलायमान हुँदै आएको र घरबाससमेत फस्टाउँदै गए पनि कोरोना भाइरस सङ्क्रमण पटक–पटक निषेधाज्ञा गर्दा भर्खर लगानी गरेका घरबासलाई नराम्रो असर गरेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव गोपाल श्रीसले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...