तालिवानसामु अफगानी सैनिक किन लाचार बने ?

Afganisthan sena

काठमाडौं । अन्ततः आइतबार तालिवानी विद्रोहीहरू काबुल छिरे । यससँगै अफगानी राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ भागेका छन् ।

अधिकांश देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगहरू बन्द गरेको घोषणा गरिसकेका छन् । अमेरिकी सेनाले पनि कूटनीतिक नियोगबाट आफ्ना कर्मचारीहरू फिर्ता लगेको छ । उनीहरू आफ्नो गोप्य कागजपत्र तालिवानको हातमा नपरोस् भनेर सचेत थिए, त्यसैले हिँड्नुअघि कागजपत्र डढाएर हिँडे ।

७५ हजारको सङ्ख्यामा रहेका लडाकुहरूसामु ३ लाख ५० हजारभन्दा धेरैको सङ्ख्याका अफगानी राष्ट्रिय सुरक्षाकर्मी कसरी बिचरा बने ? उनीहरूले पर्याप्त प्रतिरोध किन गर्न सकेनन् ? अमेरिकाबाट २० वर्ष संरक्षण र प्रशिक्षण पाएको अफगानी सेना यति निरीह किन रह्यो ?

यसको सबैभन्दा सही जवाफ : अफगानिस्तानको भ्रष्ट सरकारका कारण गिरेको सैनिकहरूको मनोबल हो । सरकार समर्थकहरू नै तालिवानको साथमा अफगानिस्तानमा १९८० को दशकमा सोभियत युनियनले हस्तक्षेप गर्दा त्यसको डटेर प्रतिकार गर्ने कमान्डर थिए, अहमद शाह मसुद ।

उनका भाइ हुन्, अहमद वली मसूद, जो बेलायतका राजदूत समेत रहिसकेका छन् । उनले केहीअघि अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलसँग भनेका थिए,‘भ्रष्ट नेताहरू र सरकारका लागि लड्न सैनिकहरूमा कुनै ऊर्जा छैन । उनीहरू गनीका लागि लड्दै छैनन् । उनीहरूलाई राम्रोसँग तलब पनि मिलेको छैन । कसका लागि लड्ने ? उनीहरू तालिवानसँग खुसी छन्, त्यसैले आफ्नो पक्ष बदलिरहेका छन् ।’

वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा लेखेको थियो,‘ तल्ला तहका कमान्डरहरू धमाधम तालिवानसामु आत्मसमर्पण गर्दैछन् । पूर्व सिनेटर तथा ताजिक जमिअत ए इस्लामी पार्टीका प्रमुख आसिफ अजिमी पनि तालिवानसँगै मिल्न गए ।’

अजिमी तालिवानसँग मिल्न जानुलाई गनी सरकारको ठूलो असफलताका रूपमा हेरिएको थियो । अजिमीको निर्णयको असर अन्यमाथि पनि पर्ने अनुमान थियो । उनी तालिवानसँग मिल्नुले तालिवानको जीत रोक्न मुस्किल छ भन्ने तर्कलाई बल पुगेको थियो ।

अजिमीले वाल स्ट्रिटसँग फोनमा भनेका थिए,‘जमियत ए इस्लामीको स्थापना १९८० को दशकमा सोभियत समर्थित शासनविरुद्ध इस्लामिक शासन लागु गर्नका लागि भएको थियो । तर २००१ म अमेरिकासँग गठबन्धन गरेपछि हामी आफ्नो लक्ष्यबाट भट्किएका थियौँ । हामी एक इस्लामिक सरकार चाहन्छौँ, अहिलेको सरकार अमेरिकाको कठपुतली हो । जो पनि यस सरकारको विरोधमा छ, हामी त्यसैको साथमा छौँ ।’

सैनिक किन लाचार ?
कागजी रूपमा अफगानिस्तानमा ३ लाख ५० हजार सैनिक छन् । तर, तालिवानसँग लड्नका लागि मैदानमा २ लाख ५० हजार सैनिक मात्रै खटिएका थिए । धेरैजसोले गोला–बारुद र रासन सकिए बित्तिकै तालिवानसामु आत्मसमर्पण गरिदिए । मिडिया रिपोर्टअनुसार सैनिकहरूले महिनौँदेखि तलब पाएका थिएनन् ।

बाइडेनले जुलाई महिनाको पहिलो हप्ता आफ्नो फैसलाको बचाउ गर्दै अफगानी सैनिकको सङ्ख्या ठूलो रहेको बताएका थिए । ‘अफगानिस्तानमा अर्को एक वर्ष लड्दा कुनै समाधान निस्किदैन । यो त त्यहाँ अनन्तकालसम्म लड्ने एउटा बहाना मात्रै हो,’ उनले भनेका थिए । उनले अफगानिस्तानको सत्तामा आउनबाट तालिवानलाई रोक्न सकिँदै भन्ने दाबी पनि खण्डन गरेका थिए । तीन लाख अफगान सुरक्षा बललाई ७५ हजार तालिवान लडाकुले हराउन नसक्ने उनको दाबी थियो ।

तर, अमेरिकाले नेटो सहयोगीहरूसँग मिलेर अफगानिस्तानमा पछिल्लो २० वर्ष दिएको प्रशिक्षक निष्प्रभावी देखियो । अफगानिस्तानको सेना र एयर सपोर्ट पश्चिमा देशका ठेकेदारहरूमा आश्रित छ, सीमित श्रोत– साधन, पैसा र प्रविधिको कमी भएको अफगानिस्तानजस्तो मुलुकमा यस्तो व्यवस्था कहिल्यै टिकाऊ नहुने धारणा यसअघि नै विज्ञहरूले राखेका थिए ।

अफगानिस्तानको वायु सेनासँग तालिबानविरुद्ध लड्नसक्ने हतियार पनि छ । केही अफगान लडाकुहरू विमान र हेलिकोप्टर चलाउन पनि सक्षम छन्, तर तालिवानले आक्रमण थाल्दासम्म पश्चिमा ठेकेदारहरू यहाँबाट हिँडिसकेका थिए । सबैभन्दा कठिन अवस्थामा अफगानी सैनिकहरूले आफूलाई एक्लो पाए । त्यसैले प्रतिरोध त्यस्तो देखिएन, जस्तो हुनुपर्ने थियो ।

जुलाईमा एक हजारभन्दा धेरै सैनिकहरू छिमेकी देश ताजकिस्तानमा भागेका थिए, स्रोत–साधन र सुविधाको कमी व्यहोरिरहेका सैनिकमा कुनै उत्साह थिएन भन्ने यसैले पुष्टि गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

टार्गेट मंसिर ४ गते : इमान कमाउने बाउ, सधैं ब्याज खाने छोरो !

Sunil thapa

धनकुटा । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी जोड घटाउको रा...