भारतमा सङ्क्रमण घट्दो, तर विज्ञहरु भन्छन्, यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

Viber image 2021 06 24 13 09 39

भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

उनीहरुले भनेका छन् कि– यसरी पछिल्ला दिनहरुमा सङ्क्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मूर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ ।

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरूलाई पनि थाहा नै छ ।

यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई  मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आम मानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरूलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।

अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसङ्ख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए– भारतमा कोभिड १९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।

उनले गत हप्ता मात्र भनेका थिए– तेस्रो लहर आगामी छ देखि आठ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरूको पालनाले पनि निर्धारण गर्नेछ ।

हुनत भारतको जनसङ्ख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो । भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेशनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउँछन् । साथै कोरोनाको खोप दिएपछि यसका सङ्क्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नु नपर्ने देखिएको पनि उनले बताए ।

भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो । तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ । खोपको दुवै मात्रा लिने यो सङ्ख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ । यो भारतको स्वास्थ्य मन्त्रालयकै तथ्याङ्क हो । सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ । 

उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ । तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरुले त्यो सम्भव देखेका छैनन् । उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ ।  

प्रतिकृया दिनुहोस