लाइभ न्युजमै समाचारवाचकले भने, ‘हामीले तलब पाएका छैनौँ’

Viber image 2021 06 25 11 10 01

जाम्बियाका एक समाचारवाचक अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । गत शनिबारको समाचार क्लिपले उनलाई भाइरल बनाएको हो ।

कबिन्द कालिमिना नामका यी प्रस्तोता केबिएन टिम न्युजका लागि काम गर्छन् । समाचारको हेडलाइन पढ्दासम्म उनी सामान्य नै देखिन्थे । त्यसपछि एकाएक अन्य समाचार पढ्न छाडेर उनले प्रत्यक्ष प्रसारणमै भने, ‘लेडिज एन्ड जेन्टलमेन, समाचारभन्दा पर, हामी मानव हौँ । त्यसैले हामीले पारिश्रमिक पाउनुपर्छ । दुग्र्भायवश् केबिएनमा हामीले पारिश्रमिक पाएका छैनौँ । मसहित सारोन र अन्य सबैजनाले पाएका छैनन् । हामीले तलब पाउनुपर्छ ।’

यति भनिसकेपछि टेलिभिजन स्टेशनमा समाचार कट भयो । अनि, निर्माताले पुनः ट्रेलर बजाउन थाले । केबिएन टिभीले ख्याति कमाउनका लागि एक रातको स्टन्ट गरेको भन्दै कालिमिनको निन्दा गरेको छ ।

कालिमिनले जड्याँहाको व्यवहार देखाएको भन्दै यसबारे अनुसन्धान गरिने पनि टिभीले जनाएको छ । ‘कसरी रक्सीले मातेका पार्ट–टाइम प्रस्तोता अन एयरमा पुगे भनेर हामी अनुसन्धान गर्दैछौँ,’ टेलिभिजनका सिईओले फेसबुकमार्फत विज्ञप्ति निकाल्दै भनेका छन् ।

यद्यपी, हेडलाइन पढ्दासम्म यी प्रस्तोता निकै भद्र र सामान्य देखिएका थिए । पत्रकार तथा कर्मचारीले तलब नपाएकै कारण आफु यस्तो कदम चाल्न बाध्य भएको कालिमिनले बताएका छन् । कम्पनीले लगाएको आरोपको उनले खण्डन गरेका छन् । ‘हो मैले लाईभ टिभीमा यस्तो काम गरेँ किनकी धेरै पत्रकारहरु बोल्नका लागि डराउँछन् भन्नुको अर्थ पत्रकारहरुले बोल्नै हुँदैन भन्ने होइन,’ फेसबुकमा उनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस