ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान अब ‘आपराधिक’ प्रकृतिको पनि

734987 donald trump2

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान अब देवानीमा सीमित नरही फौजदारी बनेको न्यूयोर्ककका महान्यायाधीवक्ताको कार्यालयले बताएको छ।

राज्यकी महान्यायाधीवक्ता लेटिशिया जेम्सका प्रवक्ताले ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान पूर्ण रुपमा देवानी (सिभिल) मात्रै नरहेको बताएका हुन्।

सम्भावित फौजदारी (आपराधिक) अपराधलाई लिएर पनि ट्रम्प अर्गनाइजेशनमाथि अनुसन्धान थालिएको उनले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

न्यूयोर्ककी महान्यायाधीवक्ता जेम्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको संस्थाले राष्ट्रपति बन्नु पूर्व गरेका आर्थिक गतिविधिमाथि छानबिन गरिरहेकी छन्।

ट्रम्पले आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन्। आफूमाथि भइरहेको अनुसन्धान पूर्ण रुपमा राजनीतिक रहेको दाबी ट्रम्पले गरेका छन्।

जेम्सका प्रवक्ता फाबियन लेभीले अनुसन्धानको दायरा सम्भावित आपराधिक गतिविधि पनि बिस्तार भएको बताए पनि विस्तृत विरण भने खुलाएनन्।

जेम्सले ट्रम्प अर्गनाइजेशनमाथि देवानी प्रकृतिको अनुसन्धान सन् २०१९ को मार्चमा सुरु गरेकी थिइन्। ट्रम्पले बैंकहरुबाट ऋण लिने प्रयोजनका लागि आफ्नो सम्पत्तीको मूल्यांकन भए भन्दा अधिक देखाएको आरोप थियो।

यस्तै कर कम गर्नका लागि सोही सम्पतीको मूल्यांकन कम गराएको आरोपमा छानबिन भइरहेको थियो। उनको कार्यलयले ट्रम्प अर्गनाइजेशनका म्यानहटन, न्यूयोर्क, सिकागो र लस एन्जलसमा रहेका कार्यलयबाट कागजातहरु पनि माग गरेको छ।

प्रतिकृया दिनुहोस