भारतमा एकै दिन ३२ सयको मृत्यु, कोरोनाबाट ज्यान गुमाउने २ लाख नाघे

Covid india 1 1619315277

एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार २८६ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १६५ पुगेको छ

कोरोना महामारी देखिएयता पहिलो पटक भारतमा एकै दिन तीन हजारभन्दा बढीको मृत्यु भएको हो । पछिल्लो एक सातायता दैनिक दुई हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका थिए ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप तीन लाख ६२ हजार ९०२ जनामा संक्रमण देखिएको छ । यो अहिलेसम्म दैनिक थपिएका संक्रमणको संख्या सबैभन्दा बढी हो । एक सातायता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन् ।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ । अहिलेसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतका १५ राज्यमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । सबैभन्दा बढी महाराष्ट्रमा ६६ हजार ३६८ संक्रमित थपिएका छन् ।

त्यस्तै, उत्तर प्रदेश, केरला र कर्नाटकमा ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् । पश्चिम बंगालमा १६ हजार ४०३, तलिमनाडुमा १५ हजार ८३०, गुजरातमा १४ हजार ३५२ र उत्तराखण्डमा ५ हजार ७०३ संक्रमित थपिएका छन् । नेपालसँग जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड पनि सबैभन्दा बढी संक्रमण भएका राज्यमा रहेका छन् ।

प्रतिकृया दिनुहोस