सुस्ताएको काउलेपानी घरवासले गति लिँदै

Ghalegaun2020 10 19 10 01 24

काठमाडौँ । बेँसीशहर नगरपालिका–३ काउलेपानी घरवासमा पर्यटक वृद्धि हुन थालेको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेबाट बन्द भएको सो घरवास यही फागुन १ गतेदेखि सञ्चालनमा आएको थियो ।

कोरोना कहर झण्डै ११ महिना सुनसान रहेको यहाँको घरवासमा पर्यटक आउन थालेसँगै पहिलाकै लयमा गति लिन थालेको छ । समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस घरवासमा यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकलाई खुला भएकै दिनबाट दैनिक ३०÷३५ न्यूनतम पर्यटकको आगमन भइरहेको काउलेपानी पर्यटन विकास समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए ।

उनले भने, “शुक्रबार, शनिबार तथा बिदाको दिनमा भने १०० देखि २०० सम्म पर्यटक आउन थालेका छन् ।” विस्तारै पर्यटक आगमन हुँदै दैनिक ३००÷४०० पर्यटक आउने अपेक्षामा रहेको उक्त समितिले जनाएको छ । समितिका अनुसार यस घरवासमा आएको पर्यटकलाई अनिवार्य मास्क, स्यानिटाइजरलगायतका सुरक्षा मापदण्ड अपनाउन लगाएको छ भने घरवास सञ्चालकले पनि सोही मापदण्ड पालना गर्दै आएका छन् । कोभिडका कारणले जिल्लामा खुला गरिएका अधिकांश घरवासमा पर्यटकलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेका छैनन् ।

यहाँ भने पर्यटकलाई स्वागत तथा बिदाइ विगतकै जसरी गर्न थालिएको छ । त्यस्तै गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टीका (अक्षता) ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीनपटक गाउँलेले पर्यटकलाई खुवाउने गर्दछन् । अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचार खाजा खुवाउने गरेको घरवास सञ्चालक लक्ष्मी श्रेष्ठले बताए ।

स्थानीयवासीले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन् । यस घरवासमा पर्यटकलाई गुरुङको लोपोन्मुख घाटु, घ्याब्रे नाच, कृष्ण चरित्रलगायतका विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्ने उनीहरुको भनाइ छ ।

त्यस्तै पर्यटकलाई स्वागत गर्दै विभिन्न सांस्कृति नृत्य प्रस्तुतपछि रातिको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँदछन् । त्यस्तै छुट्टिने बेलामा बिदाइ गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोशेलीस्वरुप सेलरोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ ।

सन् २०११ बाट सञ्चालनमा आएको यस घरवासमा १५ घरमा घरवासको व्यवस्था गरिएको छ । यहाँ गुरुङ, नेवार र भुजेल समुदायको घरवास छ । त्यस्तै ती सबै घरवासमा गरी ८८ पर्यटक एकैरातमा सुत्न मिल्ने समितिका सचिव गुरुङले जानकारी दिए । यहाँ विगतमा पर्यटकीय याममा पर्यटकले गाउँ नै ढाक्ने गर्दथ्यो ।

यहाँबाट पर्यटकले लमजुङ हिमाल, बौद्ध हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण साउथ, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनास्लु दक्षिण, मनास्लु, च्ये, डाक्टर हर्कपिकलगायत एक दर्जन हिमशृङ्खला देख्न सकिन्छ । साथै शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार, सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । यहाँ पूजा तथा दर्जन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

त्यस्तै गाउँमा रहेको काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । यी स्थान तथा ऐतिहासिकस्थलको अवलोकन गर्नका लागि समेत यहाँ पर्यटक आउने गरेको घरवास सञ्चालकको भनाइ छ । बेँसीशहर बजारदेखि दक्षिण–पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारी साधनमा ४५ मिनेट र पैदलयात्रामा साँढे एक घण्टा समय लाग्छ ।

पैदल यात्रुका लागि सिँढी निर्माण गरिएको छ । त्यस्तै सवारी साधनमा जाने पर्यटकका लागि सडकको स्तरोन्नति गरिएको छ । यहाँ यतिबेला विभिन्न जिल्लाबाट पर्यटकको आगमन भइरहेको उक्त समितिले जनाएको छ ।

ऐतिहासिकस्थल गाउँशहरको सोे घरवासलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट घरवास घोषणा गरेको थियो । यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको समितिले जनाएको छ । सन् २०१६ मै काउलेपानीलाई खाद्यान्न तथा गुण नियन्त्रण विभाग मन्त्रालयले स्वच्छ र अग्र्यानिक भएको जनाउँदै रु १० हजार रकमसहित पुरस्कार प्रदान गरेको थियो । यस्तै २०१६ मै स्वाथ्य तथा जनसङ्ख्या वातावरण मन्त्रालयले काउलेपानीको अध्ययन गरी नेपालकै पहिलो वातावरणमैत्री घरवास घोषणासमेत गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...