बेलायतमा एकैदिनमा ६० हजार बढी कोरोना संक्रमित थपिए

Corona virus out break gkwymjzgbu

लन्डन । बेलायतमा एकैदिन ६० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । देशव्यापी लकडाउनको घोषणा गरेकै दिन (मंगलबार ) अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । लगातार सातौँ दिनसम्म ५० हजारभन्दा माथि रहेको बेलायतको संक्रमितको संख्या आज मंगलबार भने ६० हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा मात्र ६० हजार ९१६ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख ७४ हजार ४७९ पुगेको छ ।

यस्तै बेलायतमा कोरोनाका मृतकको संख्या पनि ७६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ८३० जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ हजार ३०५ पुगेको छ ।

संक्रमण बढेसँगै दैनिक अस्पताल भर्ना अहुने कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा वृद्धि भएको छ । मंगलाबारमात्र २४ घन्टामा तीन हजार भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । हाल २३ हजार भन्दा बढी कोरोनका बिरामी अस्पतालमा उपचार गराइरहेका छन् ।

जसमध्ये एक हजार ८ सयभन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । गतवर्ष महामारी शुरु भएयताकै सबै भन्दा बढी मानिसहरु अस्पताल भर्ना भएका छन् । नयाँ कोरोना भाइरस भेरियन्ट ५० देखि ७० प्रतिशतसम्म संक्रामक रहेपछि दैनिक संक्रमित संख्या ५० हजारभन्दा माथि पुगेको छ ।

प्रतिकृया दिनुहोस